logo
२०८१ मंसिर ८ शनिवार



एकीकृत आइसोलेसनको तयारी

खुला |


एकीकृत आइसोलेसनको तयारी


नगेन्द्र सापकोटा

काठमाडौँ, भदौ ६ गते । काठमाडौँ महानगरपालिकाले उपत्यका स्तरीय पाँच हजार जना क्षमताको एकीकृत क्वारेन्टाइन र आइसोलेसन निर्माणको तयारी थालेको छ । सङ्घ, प्रदेश र उपत्यकाका नगरपालिकाको समन्वय र सहभागितामा एक साताभित्र पाँच हजार जना अट्ने एकीकृत क्वारेन्टाइन र आइसोलेसन निर्माणका लागि तयारी थालिएको हो ।
महानगरसहित उपत्यकाका अन्य नगरपालिकाले पनि आइसोलेसन कहाँ राख्ने भनेर स्थानको खोजी गरिरहेका छन् । उक्त आइसोलेसन काठमाडौँ महानगरपालिका र उपत्यकास्थित अन्य नगरपालिका क्षेत्रमा निर्माण गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “उपत्यकावासी कोही पनि कोरोनाका उपचार नपाएर पीडित हुनुपर्ने छैन, त्यसको जिम्मेवारी हामी लिन्छौँ ।” उहाँका अनुसार कोरोनाविरुद्ध लड्नका लागि उपत्यकाका सबै नगरपालिका एकै ठाउँमा उभिएका छन् । महानगरपालिकाले अहिले क्वारेन्टाइनका लागि ४१ वटा कोठा र छ हजार बेडको होटल खोजी गरिसकेको छ ।
महानगरको साधन र स्रोतले भ्याएसम्म दसवटा कन्ट्याक ट्रेसिङ टोली बनाएर ३२ वटै वडामा पीसीआर परीक्षणसमेत गरिरहेको छ । दैनिक पाँचवटा टोलीले कोरोनाविरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको र प्रत्येक वडासँग समन्वय गर्न पाँचवटा अनुगमन टोली परिचालन गरेको महानगरपालिकाले जनाएको छ । नगरप्रमुख शाक्यले भन्नुभयो, “उपत्यका प्रवेश गर्ने नागरिक लुकेर बस्ने र सूचना नदिने हो भने कोरोना झनै भयावह हुने भएकाले यसप्रति सबै गम्भीर बन्नुपर्छ ।”
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?