logo
२०८१ बैशाख १७ सोमवार



परेवाभीर खण्डको सडकका लागि दुई करोड लगानी हुने

खुला |


परेवाभीर खण्डको सडकका लागि दुई करोड लगानी हुने
परेवाभीरको फाइल फोटो



शिवकुमार काशी
हेटौँडा, भदौ १९ गते । खोला तर्न नसकेर भीरबाट यात्रा गर्नुपर्ने राक्सिराङ गाउँपालिका-४ स्थित परेवाभीर खण्डमा सडक बनाउन सङ्घीय सरकारले दुई करोड रुपियाँ लगानी गर्ने भएको छ ।
अर्थ मन्त्रालयलाई बजेट अपुग भएकोले थप गर्न माग गर्दै गरिएको आग्रह स्वीकार गरी दुई करोड रुपियाँ बजेट व्यवस्थापन भएको मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडाले जानकारी दिनुभयो । मन्त्रीस्तरीय निर्णयबाट २०७७ भदौ ९ गते सशर्त अनुदानमा दुई करोड रुपियाँ परेवाभीर खण्डमा सडक निर्माणका लागि व्यवस्था गरिएको हो ।
हरेक वर्ष उक्त खण्डबाट पैदल यात्रुहरु लडेर मर्ने तथा मनहरी खोलाले बगाउने गरेकामा यसवर्ष बजेट बिनियोजन नभएकामा पश्चिम मकवानपुरको राक्सिराङ, कैलाश गाउँपालिकाका बासिन्दा आक्राेशित भएका थिए । बागमती प्रदेश सरकारले पुष्पलाल चक्रपथ निर्माण गर्ने भनेर दुई करोड विनियोजन गरे पनि परेवाभीर खण्डमा बजेट नहाल्ने जनाएको थियो । राक्सिराङ गाउँपालिकाले सोही खण्ड निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरी टेन्डर प्रक्रिया अघि बढाइसकेको छ । सोही बहुवर्षीय ठेक्का पूरा गर्न अर्थ मन्त्रालयले दुई करोड रुपियाँ सशर्त अनुदान पठाएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
परेवाभीर सडक खण्ड निर्माणका लागि ६ करोड ६१ लाख ६९ हजार लागत लाग्ने गरी डीपीआर बनेको गाउँपालिकाले जनाएको छ । स्थानीय तह र सङ्घीय सरकारको समेत लगानी भएपछि अर्काे आर्थिक वर्षमा परेवाभीर खण्ड निर्माण सम्पन्न हुनेगरी काम अघि बढ्ने अपेक्षा गरिएको छ । मनहरीबाट–मलेखु जोड्नका लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै ५२ किलोमिटर मात्रै दूरी रहेको र अधिकाँशको ट्रयाक खुलिसकेको अवस्था छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?