दीवाकर पोखरेल
देउखुरी, भदौ २० गते । दाङको गढवा गाउँपालिका वडा नम्बर १ रङसिङका ५० वर्षीय चन्द्रे कुमाल अभिभावकको साहारामा टिन पाइन्छ भन्ने सूचनाका आधारमा वडा कार्यालयमा पुग्नुभयो । अशक्त तथा अपाङ्गता भएका उहाँलाई गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा अध्यक्ष बाबुराम अधिकारीले २० पाता टिन दिनुभयो । त्यस्तै, गढवा १ कालाकाटेकी बालिका घर्तिमगर र सोही ठाउँकी केशरी गिरी पनि जस्तापाता पाएपछि खुसी हुनुभयोे ।
गढवा गाउँपालिका वडा नम्बर १ का विपन्न, अशक्त र खरका छाना भएका ५१ जनालाई जस्तापाता वितरण गरिएको छ । सरकारको जस्तापाता वितरण गरी खरका छाना हटाउने कार्यक्रमबाट नागरिक खुसी भएका छन् ।
गढवा गाउँपालिका वडानं. १ ले गत अर्थिक वर्ष २०७६।०७७ को १० लाख बजेटबाट ५१ जना नागरिकलाई वडा कार्यालयबाट जस्तापाता वितरण गरेको हो । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले खरका छाना हटाउने र गरिबका घरमा टिन लगाउने नेपाल सरकारको कार्यक्रम बमोजिम गाउँपालिका र वडाहरुले पनि यो अभियान सुरु गरेको जानकारी दिनुभयो ।
गतवर्ष वडानं. ८ कोइलाबासमा ६५ घरधुरीमा टिन लागेको छ । यसवर्ष सुरक्षित आवास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाका तीनसय ८९ घरधुरीमा जस्तापाता लगाउने तयारी भैरहेको छ । गढवा गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष बाबुराम अधिकारीले वडाका अधिकांश नागरिकलाई खरका छानामुक्त बनाउने योजना रहेको बताउनुभयो ।
यस्तै, वडानं. ८ कोइलाबासमा गत वर्ष प्रतिघर २० पाताका दरले ६५ घरधुरीलाई जस्तापाता वितरण गरिएको छ । वडा नम्बर ८ का वडाअध्यक्ष सद्दाम सिद्दिकीले यसवर्ष पनि ३५ घरधुरीलाई जस्तापाता वितरण गरी आफ्नो वडालाई खरका छानामुक्त वडा बनाउने योजना रहेको जानकारी दिनुभयो । गढवा गाउँपालिकाले सङ्घीय सरकारको सुरक्षित आवास, प्रदेश सरकारको जनता आवास र गाउँपालिकाको आफ्नो अभियान सबैलाई जोड्दै खरका छानामुक्त गाउँपालिका बनाउने योजना बनाएको छ ।