गोरखापत्र समाचारदाता
काठमाडौँ ,भदौ २९ गते । नेपाली कांँग्रेसका नेताले कोरोना भाइरस (कोभिड–१९)को महामारी देशभर फैलिइरहेकाले ‘आफू बचौँ र अरूलाई पनि बचाउने’ कार्यमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचार गर्न सरकारले जति गर्नुपर्दथ्यो त्यति गर्न सकेन भन्दै शीर्ष नेताले अब सरकारको भर नपरी आफू पनि बच्न र अरूलाई पनि बचाउने कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो ।
कांँग्रेसको केन्द्रीय कोभिड–१९ अनुगमन समितिले आइतबार प्रदेश–२ स्तरीय ‘कोरोना सङ्क्रमणको सन्दर्भ : सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ वेबिनारलाई सम्बोधन गर्नुहुँदै यस्तो आग्रह गर्नुभएको हो । त्यस अवसरमा पार्टी सभापति शेरबहादुर देउवाले सामाजिक दूरी कायम गर्न, सरसफाइमा ध्यान दिन र मास्क तथा सेनिटाइजरको प्रयोग गर्न सबैसँग अपिल गर्नुभयो । उहाँले मानिसलाई जति सचेतना फैलाउन सक्छौँ, त्यति नै कोभिडबाट बचाउन सक्छौँ भन्दै नागरिकलाई कोरोनाबाट बच्ने उपाय सिकाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उपसभापति विमलेन्द्र निधिले आफ्नो साधन स्रोतले भ्याएसम्म कोरोना परीक्षण गराउन, सचेतना फैलाउन र अपाङ्गता भएका, गरिब, श्रमिक र एकल महिलाको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।
अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोना हामी जो सुकैलाई पनि लागेको हुनसक्छ, त्यसैले आफन्त, चिनेको, साथीभाइ भनेर भेटघाट नगर्न, भेट्नै परे पनि सामाजिक दूरी कायम गरेर मात्रै भेट्न अनुरोध गर्छुु भन्नुुभयो ।
डा. आरजु राणा देउवाले महिलाको प्रजनन स्वास्थ्य र नवजात शिशुको स्याहार तथा सुरक्षा ठूलो चुनौतीका रूपमा देखिएकाले उच्च सतर्कता अपनाएर उपचार गरिदिन स्वास्थ्यकर्मीसँग आग्रह गर्नुभयो । प्रादेशिक अस्पताल जनकपुरका डा. रामनरेश पण्डितले प्रदेश–२ मा दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएको चर्चा गर्दै भेन्टिलेटर, आईसीयू र व्यवस्थित क्वारेन्टाइनको खाँचो औँल्याउनुभयो ।