गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २९ गते । सम्झौता अनुसार युरिया मल आयात नगरेका दुई कम्पनीको कालोसूचीको प्रक्रिया तत्काल यथास्थितिमा राख्न उच्च अदालत पाटनले आदेश गरेको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले भदौ ३१ गतेसम्म प्रक्रिया यथास्थितिमा राख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले बैंक जमानत जफत गर्ने प्रक्रिया पनि यथास्थितिमा राख्न आदेशमा भनेको छ । कृषि सामाग्री कम्पनीले लिमिटेडले भने मल समयमा नल्याउने शैलुङ इन्टरप्राइजेज र हनिको मल्टिपल प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरिसकेको छ ।
सिफारिसपछि शैलुङ र हनिकोद्वारा दायर रिटमा सुनुवाइ गर्दै अदालतले दुबै पक्षलाई भदौ ३१ गते छलफलका लागि समेत बोलाएको छ । उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले तत्काललाई अन्तरकालीन अन्तरिम आदेश जारी गरेर दुबै पक्षलाई छलफलमा बोलाइएको बताउनुभयो । दाहालले भन्नुभयो, ‘‘तत्काल निवेदकउपर कुनै पनि कारबाहीका प्रक्रिया अगाडि नबढाउन आदेश भएको छ । भदौ ३१ गते दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।’’