भउचप्रसाद यादव
काठमाडौँ, असोज २६ गते । नजिकिँदै गरेको बडादशैँ, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
उपत्यकाको सवारी आवागमन सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण गर्न सुरक्षा योजना लागू गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रु ओरालिदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरीले सादा पोसाकमै प्रहरी परिचालन गरेको छ । टिकट काउन्टरमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता एकाइबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी गरिरहेको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।
मुख्यतः नयाँ बसपार्क क्षेत्र, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशाला लगायत टिकट काउन्टर भएका स्थानमा सादा पोसाकमै प्रहरी परिचालन गरी टिकट काउन्टरमा विशेष निगरानी गरिने एसपी यादवले बताउनुभयो । उहाँले सादा पोसाकका ट्राफिक प्रहरीले बढी भाडा लिई टिकट काट्ने, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ भने भाडाका बसमा चढी तोकिएको मूल्य अनुसार टिकट लिएको छ, छैन चेकजाँच पनि गर्नेछ भन्नुभयो ।
टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिको सहजै पहिचान होस् भनेर परिचय पत्रको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।
प्रविधिबाट निगरानी
लामो दूरीका भाडाका सवारी साधनमा दुई चालक अनिवार्य रूपमा भए नभएको प्रविधिबाट निगरानी गरिने महाशाखाले जनाएको छ । दुई चालक भए नभएको ट्राफिक प्रहरीको ट्राफिक ‘कम्युनिकेसन एप्स’बाट हेर्न र नियमानुसार नभए कारबाही गरिने एसपी यादवले बताउनुभयो । टिकट काउन्टर तथा सवारी साधनभित्र यात्रुले देख्ने गरी भाडा दररेट टाँस गर्ने काम अनिवार्य गराउने योजना पनि महाशाखाको रहेको छ ।
आकस्मिक जाँच
चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा हुन सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति गरी चार पटकसम्म विशेष चेकजाँचको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।
थप प्रहरी परिचालन
महाशाखाले उपत्यका भित्रिने नाका, व्यापारिक क्षेत्र तथा बसपार्क क्षेत्रमा आवश्यकता अनुसार थप जनशक्ति परिचालन गरिने जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक ढकालका अनुसार १७२ स्थानमा दैनिक नियमित ड्युटीका लागि नौ सय जनशक्ति परिचालन भइरहेको छ । चाडपर्वको समयमा अतिरिक्त थप १५० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिने प्रवक्ता यादवले जानकारी दिनुभयो ।
सहायता कक्ष
काठमाडौँ उपत्यका भित्रको सुरक्षा संयन्त्रलाई ध्यान दिँदै १४ वटा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइने महाशाखाका प्रवक्ता एसपी यादवले बताउनुभयो । यात्रुको गुनासो सूक्ष्म रूपमा मनन् गरी तत्काल सम्बोधन गर्न नागरिक कक्ष राखिने उहाँले स्पष्ट पार्नुभयो ।