लोकेन्द्र जोशी
दार्चुला, कार्तिक १५ गते । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर गाउँमा यो वर्ष तिहारसम्म खाद्यान्न अभाव नहुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले माउण्टेन एयरको हेलिकोप्टरमार्फत ढुवानी अनुदानमा खाद्यान्न पुर्याएपछि तिहारसम्मको लागि खाद्यान्न व्यवस्थापन भइसकेको व्यासका स्थानीय नगेन्द्र तिकंरीले बताउनुभयो ।
व्यासबासी तिहार सकेर चिसो छल्न दार्चुला सदरमुकाम खलंगा बसाईसराई (कुञ्चा) गर्छन् । चिसोको समयमा मंसिरदेखि वैशाखसम्म खलंगा र वैशाखदेखि मंसिरसम्म व्यासमा बसोबास गर्दै आएका व्यासबासीले कुञ्चा सर्दासम्म खाद्यान्न अभाव नहुने गरी व्यवस्थापन गरिएको वडाअध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । दशैँ र तिहार लक्षित गरेर प्रदेश सरकारले छाङरु र तिङ्करका २१० घरधुरीलाई खाद्यान्न ढुवानी गरेको छ । व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहराका अनुसार प्रति परिवार ३७ किलोग्राम चामल, १० किलोग्राम चिनी, पाँच किलोग्राम दाल, तीन किलोग्राम नुन र दुई लिटर तेल वितरण गरिएको छ ।
प्रदेश सरकारले ढुवानी भाडामा ४५ लाख रुपियाँ खर्च गरे पनि खाद्यान्न सामाग्री भने स्थानीय आफैले रकम जम्मा गरेर किनेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा व्यासको लागि विशेष प्याकेज घोषणा गर्दै पुर्वाधार विकासका लागि पाँच करोड रुपियाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले घरेलु तथा साना उद्योग विकास समिति कार्यालय दार्चुलामार्फत ढुवानीमा ४५ लाख रुपैया बजेट उपलब्ध गराए पनि खाद्यान्न सामग्री आफैले किन्नुपर्दा समस्या भएको स्थानीय विनोद बुढाथोकीले बताउनुभयो ।
प्रदेशले खाद्यान्न खरिदको जिम्मेवारी वडालाई दिएपनि वडाको बजेट यसअघि नै विनियोजन भइसकेको र तत्काल स्थानीयबाट रकम जम्मा गर्न समेत समस्या हुने देखिएपछि अहिलेलाई प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, वडा सचिव विनोद बुढाथोकी, नेकपाका नेता जहेन्द्रसिह ऐतवाल र युवा समाजसेवी योगेश बोहराले खाद्यान्न खरिदमा झण्डै २० लाख रुपैयाँ खर्च गरेको वडाअध्यक्ष बोहराले बताउनुभयो । भारतले कालापानी नजिकका कुटी, बुदी, गुञ्जी लगायत गाउँका नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउनुका साथै हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गरेको छ । नेपाल सरकारले समेत यसतर्फ विशेष ध्यान दिनु आवश्यक रहेको वडाअध्यक्ष बोहराले बताउनुभयो ।
अपि हिमालमा समयमै खाद्यान्न आपूर्ति
दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा यो वर्ष खाद्यान्न अभाव नहुने भएको छ । नेपाल खाद्य संस्थान धनगढीले समयमै खाद्यान्न ढुवानी गरेको कारण अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव नहुने अपि हिमाल गाउँपालिकाले जनाएको छ ।
विगत वर्षहरुमा अपि हिमाल गाउँपालिकामा दशैँ, तिहार देखि खाद्यान्न अभाव हुने गरेको थियो । यो वर्ष भदौ महिना देखि नै खाद्य संस्थान धनगढी कार्यालयलाई ताकेता गरेर समयमै खाद्यान्न आपुर्ति भएकोले गाउँपालिकामा खाद्यान्न अभाव नहुने गाउँपालिका उपाध्यक्ष उर्मीला बोहराले जानकारी दिनुभयो । गाउँपालिकाले यो वर्ष खाद्य संस्थानलाई दार्चुलाको खण्डेश्वरी डिपोको लागि दुई हजार क्वीन्टल चामल ढुवानी गर्न ताकेता गरेको उहाँले बताउनुभयो ।
अपि हिमाल गाउँपालिकामा स्थानीय स्तरमा उत्पादन भएको खाद्यान्न तीन महिना मात्रै पुग्ने गरेको छ । बाकी समय बजारबाट खरिद गरिएको र खाद्य संस्थानको चामलबाट छाक टार्नुपर्ने अवस्था रहेको स्थानीय योगेन्द्र धामीले बताउनुभयो । गाउँपालिका केन्द्रसम्म यातायातको सुविधा समेत नभएकोले खाद्यान्नको मूल्य दोब्बर पर्ने गरेको छ ।