logo
२०८२ भाद्र ७ शनिवार



महिला चालक भएको सवारी चेकजाँचको लागि महिला ट्राफिक नै ठिक

खुला |
समाज |


महिला चालक भएको सवारी चेकजाँचको लागि महिला ट्राफिक नै ठिक
ट्राफिक प्रहरी ज्यामकुमारी थापा सवारी चेकजाँचको क्रममा । अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, पुस १० गते । तनहुँले लामो समयपछि एक जना महिला ट्राफिक प्रहरी पाएको छ । महिला ट्राफिक आएपछि महिलाहरुले चलाउने सवारी चेकजाँचको लागि सहज भएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने महिलालाई महिलाले नै सम्झाई बुझाई गर्न जरिवाना काट्न सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले बताउनुभयो । ‘घमण्डी खालका महिलालाई पुरुष ट्राफिकले सम्झाई बुझाई गर्दा उत्तेजनामा आउने हुँदा नकरात्मक असर पर्ने अवस्था पनि सार्वजानिक स्थान देखिन्थ्यो ट्राफिक प्रमुख रानाभाटले भन्नुभयो, त्यस्तो बेला महिला ट्राफिकको अभाव महशुस हुन्थ्यो महिला ट्राफिक आएपछि सहज भएको छ’ । महिला ट्राफिक प्रहरीको सङ्ख्या थोरै भएकाले धेरै समयपछि तनहुँले महिला ट्राफिक प्रहरी प्राप्त गरेको रानाभाटले बताउनुभयो ।
तनहुँमा एक साता अघि मात्रै महिला ट्राफिक प्रहरी जवान ज्यामकुमारी थापा आउनु भएको हो । तनहुँले कमै मात्रै महिला ट्राफिक पाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जनपथ र ट्राफिक दुवै क्षेत्रमा काम गर्न सहज भएको ज्यामकुमारी बताउनहुन्छ । ‘ट्राफिक क्षेत्रमा भर्खरै आएकोले काम सिकिरहेको छु काममा अप्ठ्रो महशुस भएको छैन’ ज्यामकुमारीले भन्नुभयो । पाँच वर्ष अघिदेखि नेपाल प्रहरीमा जागिरे हुनुभएकी ज्यामकुमारी सेवा नै भएकोले जता काम गर्दा पनि सहज हुने बताउनुहुन्छ ।
‘नेपाल प्रहरीमा महिला प्रहरीको सङ्ख्या न्यून छ, त्यसमाथि ट्राफिक महिला प्रहरीको सङ्ख्या झनै थोरै भएकाले सडकमा महिला ट्राफिक कमै भेटिन्छन्’ ट्राफिक प्रमुख रानाभाटले भन्नुभयो । महिला ट्राफिक प्रहरी कम भएकोले राजधानीका सडकहरुमा थोरै सङ्ख्यामा महिला ट्राफिक देखिन्छन् भने जिल्ला तहका सडकहरुमा महिला ट्राफिकहरु बिरलै भेटिन्छन् । महिलाहरुले सवारी साधनको प्रयोग गर्ने क्रम बढेसँगै महिला ट्राफिक प्रहरीको सङ्ख्या बढाउनु पर्ने महिला सवारी चालकको भनाइ छ । ‘महिलाले नै सवारी चेक गर्दा सहज भयो, पुरुषले गरेको भए भन्न गा¥हो हुन्थ्यो महिला सवारी चेकजाँचको लागि महिला नै हुनु जरुरी छ’ म्याग्दे गाउँपालिका–२ जामुनेकी आयुष्मा श्रेष्ठले भन्नुभयो । दुई पाङ्ग्रे मात्रै नभएर चार पाङ्ग्रे सवारी चलाउने महिलाहरु पनि बढेकाले महिला ट्राफिकको सङ्ख्या बढाउन जरुरी देखिएको ट्राफिक प्रमुख रानाभाट बताउनुहुन्छ ।
तनहुँ गण्डकी प्रदेश प्रवेश गर्ने नाका भएको र महिला चालकहरु बढेकाले महिला ट्राफिकलाई काममा खटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?