logo
२०८१ मंसिर १४ शुक्रवार



सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

खुला |
समाज |


सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
फोटो सौजन्य - होमेन्द्र राना



केदार तिमिल्सिना 
बनेपा, पुस १२ गते । बच्चा जन्माउने क्रममा रक्तश्राव भएपछि बेहोस भएकी काभ्रेको विकट महाभारत गाउँपालिका–८ घर्तीछापकी २५ वर्षीया सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतबार विहान साढे नौ बजे घर्तीछापमा रहेको स्वास्थ्य चौकीमा छोरा पाएकी स्थानीय लोकमाया दर्लामी (प्लासेन्टा) सालनाल ननिस्की रक्तश्राव भएपछि बेहोस हुनुभएको थियो ।
बेहास हुनुभएकी दर्लामीको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजान स्वास्थ्य चौकीले हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्दार गरिदिन गाउँपालिकामा अनुरोध गरेको थियो । सालनाल नआएपछि गम्भीर अवस्थामा रहेकी लोकमायाको उपचारका लागि हेलिकप्टर उपलब्ध गराउन गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेमार्फत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा अनुरोध गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेको अनुरोधपछि मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराएको थियो । गम्भीर अवस्थामा रहेकी सुत्केरी लिनका लागि हेलिकप्टर आइतबार दिउँसो साढे दुई बजे घर्तीछाप पुगेको सञ्चारकर्मी होमेन्द्र रानाले जानकारी दिनुभयो । गम्भीर अवस्थामा रहेकी सुत्केरी लोकमायाको थप उपचारका लागि थापाथली अस्पताल लगिएको रानाले बताउनुभयो । जिल्ला सदरमुकाम धुलिखेलबाट विकट रहेको डाँडापारीको महाभारत गाउँपालिकामा सहज रुपमा यातायातको सुविधा नभएका कारण वर्षेनी गम्भीर अवस्थामा रहेका बिरामी तथा सुत्केरीको तत्काल उद्दारको लागि हेलिकप्टर प्रयोग गरिँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?