शब्द तथा दृश्य /मनाेजरत्न शाही
काठमाडौं, माघ १३ गते । धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) लाई महास्नानपछि गत वर्षहरुमा जस्तै यस वर्ष पनि साजसज्जा तथा रङ्गरोगनको काम अन्तिम चरणमा पुगेको छ ।
प्रत्येक वर्ष चन्द्रमासको तेस्रो महिनामा अर्थात् पुस सप्तमीका दिन ढल्कोस्थित भगवतीस्थानबाट जल ल्याइन्छ भने अष्टमीका दिन आर्यावालेकितेश्वरलाई महास्नान गराइन्छ ।
महास्नानपछि नवमीका दिनदेखि मूर्तिलाई रङ्गरोगन गर्ने परम्परा छ । महास्नान पश्चात् मूर्तिमा रङ्को असर परेपछि पहिलेकै अवस्थामा राख्नको लागि पुनः रङ्गरोगन गरिन्छ ।
कलाकार नरेन्द्र चित्रकारको रेखदेख र निर्देशनमा त्यहाँका मूल पुजारीद्वय दिपंकर शाक्य तथा प्रेम शाक्यले अहिले रगंरोगन गरिरहनुभएको छ । चित्रकारका अनुसार महास्नानपछि मूर्तिमा असर पर्ने र मूर्तिमा कोरिएका चित्रहरुको रङ्ग बगेर जाने भएकाले पुनः रङ्गरोगन गर्ने गरिन्छ
घरेलु प्रकारले तीन प्रकारको रङ्ग बनाएर मूर्तिमा प्रयोग हुने उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । धार्मिक मान्यता अनुसार आउँदो पूर्णिमासम्म रङ्गरोगनका सम्पूर्ण कार्य सम्पन्न भएर सोही दिन दशकर्म पूजा गरी मूर्तिलाई पुनः आसनमा विराजमान गराइन्छ ।
मूर्तिमा रगंरोगन गर्न मूल पूजारीले गर्ने मान्यता अनुसार चित्रकारले दिएको निर्देशनमा रङ्गरोगन गर्ने गरिन्छ । चित्रकारका अनुसार आर्यावलोकितेश्वरको मुख्य मूर्ति रक्तचन्दनबाट बनेको छ । त्यसलाई बचाउनका लागि श्रीखण्ड लिपेर राखेको छ भने सबैभन्दा बाहिरी भागमा ढलोट गरी मूर्तिको सुरक्षा गरिन्छ ।