अविनाश चौधरी
धनगढी, माघ १६ गते । सुदूरपश्चिम प्रदेशस्थित शुक्रबारदेखि खुल्ला भएका चार सीमा नाकामध्ये गौरीफन्टा र गड्डा चौकी नाकाबाट पहिलो दिन एकतर्फी आउजाउ भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नाका खुलेको बारेमा सुरक्षाकर्मीलाई आधिकारिक जानकारी नदिएका कारण दुवै नाकाबाट नेपालीलाई मात्रै आउजाउ गर्न दिइएको हो । नेपाली मात्रैको यसरी आउजाउ विगत केही महिना अगाडिदेखि नै हुँदै आएको छ ।
गृह मन्त्रालयले शुक्रबारदेखि गौरीफन्टा, कञ्चनपुरको गड्डा चौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा÷पुलाघाट नाका खुल्ला गरेको छ । खुल्ला गरिएको नाकाबाट स्वास्थ्यको मापदण्ड अपनाएर नेपाल–भारतका नागरिकले आउजाउ गर्न पाउनेछन् । तर, गौरीफन्टा र गड्डा चौकी नाकाबाट पहिलो दिन नेपालीकोमात्रै आउजाउ भएको छ ।
‘प्रशासनबाट आधिकारिक जानकारी नआएकाले आज नाका खोलिएन’, गौरीफन्टा नाकामा खट्नु भएका सशस्त्र प्रहरी एमडी पन्तले भन्नुभयो । ‘पहिलेको जस्तै नेपालीलाई भने आउन र जान दिइएको छ ।’ आधिकारिक जानकारी नआएकाले भारतीयलाई आउन नदिएको उहाँले बताउनुभयो ।
सो नाकामा रोजगारीका लागि भारततिर जानेको लामो लाइन लागेको थियो भने उताबाट फर्किनेको सङ्ख्या न्यून थियो । उपचार र किनमेलका लागि उतातिर गएका नेपालीमात्रै फर्किने गरेको पन्तले बताउनुभयो ।
शुक्रबार करिब डेढ सय जना नेपाली भारततिरबाट फर्किएका छन् । यसैगरी, झन्डै एक हजार मान्छे यताबाट भारततिर गएका छन् ।
यसैगरी, गड्डा चौकी नाकाबाट विहान ८ देखि १० बजेसम्म यताबाट नेपालीलाई भारततिर जान नदिइएको थियो । तर, उताबाट भने नेपालीलाईमात्रै दिनभरि आउन दिइएको जनाइएको छ । मेडिकल टिम नाकामा १० बजेसम्ममात्रै बस्ने गरेकाले टिम गएपछि यताबाट नेपालीलाई जान नदिइएको गड्डा चौकीमा खटेका सुरक्षाकर्मीले जनाएका छन् ।
यसैगरी, झुलाघाट नाकामा भने विगत केही समयदेखि नै दुवै देशका अधिकारीको सहमतिमा एक÷दुई दिन दुवै देशका नागरिकलाई आउजाउ गर्न दिइएको थियो । सो नाका अब पूर्ण रुपमा खुलेको छ ।
कोरोना महामारी रोकथामका लागि नेपाल सरकारले गएको चैत १० गतेदेखि यी नाकाहरु सिल गरेको थियो । तर, नाका सिल भएको केही महिनापछि रोजगारी र उपचारका लागि नेपालीले जान पाएका थिए । भारतीय नागरिकलाई भने आउन दिइएको थिएन । १० महिनासम्म बन्द रहेको नाका शुक्रबारदेखि दुवै देशका नागरिकका लागि खुल्ला गरिएको छ ।
सरकारले गरेको नाका खोल्ने निर्णय स्वागतयोग्य रहेको होटल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कलमबहादुर बमले बताउनुभयो । ‘हामीले विगतदेखि नै नाका खोल्नु पर्ने माग राख्दै आएको हो र यसका लागि सरकारलाई दबाब पनि दिँदै आएका थियौं’, उहाँले भन्नुभयो । ‘सरकारले ढिलै भए पनि खोल्ने निर्णय ग¥यो । यो सकारात्मक कार्य हो ।’
सीमावर्ती भारतीय बजारसम्म नेपालीहरु किनमेलका लागि जाने गरेका छन् । यसैगरी, किनमेलकै लागि भारतीय पनि नेपाली बजारमा आउने गरेका छन् । नाका सिलपछि भने सो कार्य बन्द भएको थियो । आर्थिक गतिविधि चलायमान बनाउनका लागि नाकामा आवतजावत सहज गर्न अनिवार्य रहेको अध्यक्ष बमले बताउनुभयो । ‘सुरक्षाको मापदण्ड अपनाएर गाडीसहित भारतीय नागरिकलाई बजारसम्म आउन दिनु पर्दछ’, उहाँले भन्नुभयो ।