logo
२०८१ मंसिर १३ बिहीवार



पशुपति राममन्दिरमा आधुनिक भवन निर्माण   

खुला |
समाज |


पशुपति राममन्दिरमा आधुनिक भवन निर्माण   
फाईल तस्विर


काठमाडौँ, माघ २१ गते । विसं २०४४ देखि नित्य अखण्ड महायज्ञ र रुद्राभिषेक भइरहेको पशुपति राममन्दिरमा आधुनिक भवन निर्माण भइरहेको छ । आधुनिक भवनमा १७ कोठा, एउटा ठूलो र एउटा मिनी हल निर्माण अन्तिम चरणमा पुगेको भागवतानन्द आश्रमका आचार्य दुर्गाप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । भागवतानन्द सन्यास आश्रम एवं गुरुकुलका पीठाधीश भागवतानन्द गिरीका चेलाको रु सात करोड सहयोगमा प्राचीनशैलीको भवन निर्माण अन्तिम चरणमा पुगेको हो ।    
    
 आश्रममा गाई, ब्राह्मण, अतिथि र दरिद्र नारायणको समेत सेवा हुने गरेको छ । भवन निर्माण सम्पन्न भएपछि १०० ब्राह्मण वटुकलाई राखी नित्य अखण्ड महायज्ञ, हवन र रुद्राभिषेक गरिनेछ । हाल भवन निर्माण भइरहेकाले ३० ब्राह्मणले यज्ञ गरिरहेका छन् ।    
    
 निर्माण शुरु हुनुअघि ७५ ब्राह्मणले यज्ञ गर्ने गरेका थिए । विसं २०४२ मा पशुपति क्षेत्रमा यज्ञ गर्ने ब्राह्मणको अभाव नहोस् भनी गुरुकुलीय पद्धतितिमा अध्यापन हुने गरी यो आश्रम स्थापना गरिएको हो । आश्रम स्थापनाका लागि पशुपतिनाथका तत्कालीन मूलभट्टले स्थान दिनुभएको आचार्य पौडेलले बताउनुभयो । कोष स्थापना हुनुअघि पशुपतिनाथका मूल अर्चकले राममन्दिर क्षेत्रको करिब १० रोपनी जग्गा विसं २०४० मा आश्रमलाई भोग गर्न दिनुभएको जनाइएको छ ।    
    
त्यहाँ बनेको पुराना संरचनामै एक तला उठाएर आधुनिक भवन बनाइएको स्वामी भागवतानन्दका उत्तराधिकारी स्वामी ध्रुवश्रीले जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोषको स्वीकृति र पुरातत्व विभागको अनुमति लिएर भवन बनाइएको हो । भारतवर्षका विभिन्न स्थानबाट आउने सन्तलाई राख्नसमेत उपयोग होस् भन्ने उद्देश्यले भवन बनाइएको हो ।    
    
 पशुपति क्षेत्रमा नित्य वेदध्वनि गुञ्जायमान होस् भन्ने उद्देश्यले स्वामी भागवतानन्द गिरीले २०४२ देखि नै आश्रमसँगै गुरुकुल पनि सञ्चालनमा ल्याउनुभएको हो । भवन निर्माण सम्पन्न भएपछि आश्रम एवं गुरुकुल सञ्चालनका लागि स्थान अभाव नहुने आश्रमले जनाएको छ । नयाँ भवनको बाहिरी काम सकी भित्री साजसजावटको काम भइरहेको छ ।    
    
स्वामी भागवतानन्द गिरीकै सक्रियतामा उमाकुण्डमा पनि विसं २०१६ देखि अखण्ड यज्ञ सञ्चालन भइरहेको छ । उमाकुण्डमा भने ११ जना ब्राह्मणले नित्य यज्ञ चलाउने गरेको आश्रमले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?