logo
२०८१ मंसिर १३ बिहीवार



नाचगान गरी जीविकोपार्जन गर्ने पमरिया समुदायको पेशा संकटमा

खुला |
समाज |


नाचगान गरी जीविकोपार्जन गर्ने पमरिया समुदायको पेशा संकटमा
सप्तरीको कल्याणपुरस्थित एक बच्चालाई काँखमा लिएर नाच गान गर्दै पमरिया । तस्विर - माला कर्ण



माला कर्ण
सप्तरी, फागुन २२ गते । खुशीयाली तथा विभिन्न उत्सवमा नाचगान गरी जीविकोपार्जन गर्दैआएका सप्तरीका पमरियाहरुको पुख्र्याैली पेशा यतिखेर संकटमा परेको छ ।
पेशा नचलेका कारण उनीहरु यसबाट पलायन हुन थालेका छन् । गाउँ–गाउँमा पुगेर नाचगान गर्दै खुशी पारेर पाएको दान, बक्सिस नै जीविकोपार्जनको आधार भए पनि गुजारा चल्न छोडेपछि पमरियाहरु अहिले रोजगारीको अवसर खोज्दै विदेशिन र अर्कै पेशा अपनाउन बाध्य भएका छन् ।
हातमा ढोलकी र काँधमा झोला भिरेर गाउँ गाउँ पुगी कसैका घरमा सन्तानको जन्म, विवाहसहितका शुभ अवसर भए सोहर, समदाओन, बधैया, बिरहा लगायतका पारम्परिक गीतहरु गाएर पेशालाई निरन्तरता दिँदै आएको भए पनि गुजारा चल्न छाडेपछि पेशाबाट विस्थापित हुने गरेको बताउँछन् , सप्तरीको पकरी– ४ निवासी ईस्माइल पमरिया । युवावस्थामा छँदा सप्तरी, सिरहा, सुनसरी, उदयपुर, मोरङ, धनुषा, सर्लाही, भारतको भीमनगर, जयनगर, राघोपुर, सिमराही, त्रिवेणीगञ्ज, बीरपुर सहितका स्थानहरुको घर–घरमा गएर गाउने गरेको स्मरण सुनाउँदै अर्का बयोबृद्ध मो. ओली पमरिया भन्नुहुन्छ – पहिला सम्पन्न व्यक्तिहरु हामीले गाउने गीत तथा नाचबाट खुशी भएर नगद, गर–गहना, घडी तथा लुगा समेत दिने गर्थे, तर बढ्दो आधुनिकताका कारण अहिले यो परम्परा घट्न थालेपछि हामीहरुमाथि सङ्कट थपिएको छ ।
नाचगान गरेर जीवन नचल्ने भएपछि गाउँका पमरिया युवाहरु भारतको दिल्ली, पञ्जाव, हरियाना, लुधियानासहितका शहरहरुमा रोजगारीका लागि जान बाध्य भएको उहाँले बताउनुभयो । आफूहरुसँग जग्गा जमिन तथा सम्पति समेत नभएका कारण ढोलकीको सहाराले कला देखाउनु बाहेक अर्को विकल्प नै छैन – ओलीले भने– म त अब अस्ताउनै लागेको घाम हुँ, जिन्दगीको ठेगान छैन, तर यो पेशा नै समाप्त हुने चिन्ता लागिरहेको छ ।
देशभरिमा आफूहरु करिब दुई हजारको संख्यामा मात्रै रहेको उहाँले जानकारी दिनुभयो । बिस्तारै पमरिया नाच लोप हुँदै गएको चिन्ता व्यक्त गर्दै उहाँले ढोलकीमा हात फेर्दै यसरी गुनगुनाए– दशरथके चारु ललनमा अँगनमा खेलै, हो अँगनमामे खेलै, राजा लुटावे अन धन सोनमा, रानी लुटावे हाथके कँगनमा...। संस्कृति देशको धरोहर भएकोले परम्परागत पेशालाई प्रोत्साहन गर्नका लागि सम्वन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।
अल्पसंख्यक जातिको रुपमा रहेको पमरियाहरुको परम्परागत पेशाको संरक्षण संवर्धनका लागि राज्य गम्भीर नभए केही दशक पछि लोप हुने बताउनुहुन्छ मैथिली साहित्य परिषद राजविराजका पूर्व अध्यक्ष एंव वरिष्ठ पत्रकार विष्णुकुमार मण्डल । साँस्कृतिक पहिचानहरु लोप भइरहँदा पनि पमरिया जातिका बुढापाकाहरुले निरन्तरता दिँदै आएकोले यसलाई जीवन्त राख्नका लागि समाजले समेत प्रोत्साहन गर्नु पर्ने उहाँको सुझाब छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?