logo
२०८१ बैशाख २० बिहीवार

  दृश्य समाचार  



गैँडा गणनाकाे छैटौँ संस्करणमा सात सय गैँडा पुग्ने अनुमान

खुला |


गैँडा गणनाकाे छैटौँ संस्करणमा सात सय गैँडा पुग्ने अनुमान


लक्ष्मीप्रसाद उपाध्याय
सौराहा, चैत ९ गते । विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडाको राष्ट्रिय गणनाका छैठाैँ संस्करण सोमबारबाट सुरु भएको छ । यसअघि सन् २०१५ मा राष्ट्रिय तहमा गैँडा गणना भएको थियो । गत वर्ष सबै तयारी पूरा भएर पनि कोभिड १९ का कारणले स्थगित भएको गणना यो वर्ष सुरु भएको छ ।

एकसिङ्गे गैँडा पाइने चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गर्दा झण्डै एक महिना लाग्ने भएको छ । सन् १९९४ मा पहिलो पटक, सन् २००० मा दोस्रो पटक, सन् २००८ मा तेस्रो पटक, सन् २०११ मा चौथो पटक र सन् २०१५ मा पाँचौ राष्ट्रिय गैँडा गणना गरिएको थियो । हुन त नेपालमा सन् १९५० देखि नै केही सिमित निकुञ्जभित्रका गैँडा गणना गरिँदै आएको हो तर राष्ट्रिय स्तरमा पहिलो पटक सन् १९९४ बाट सुरु गरिएको हो । सन् २००५ मा चितवन राष्ट्रिय निकुञ्जलाई मात्र केन्द्रित गरी गैँडा गणना गरिएको थियो ।

गैँडा राष्ट्रिय गणनाको शुभारम्भ वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले हात्तीमा चढेर गैँडा गणनामा प्रयोग गरिने तालिम प्राप्त हात्तीको लस्करलाई सिट्ठी फुकेर उद्घाटन गर्नुभयो । सरकारले पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एक कलष्टर मानेर यो पटक गणनाको शुभारम्भ गरेको हो । गणनाको पहिलो दिन पर्सा राष्ट्रिय निकुञ्जको रमौली प्रतापुर फाँटाबाट गैँडाको गणना गरिएको छ ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई १९ वटा ब्लकमा बिभाजन गरी निकुञ्जभित्र विभिन्न १० स्थानमा क्याम्प खडा गरेर २१ दिन भित्र गणना सम्पन्न गर्ने लक्ष्य राखेको कुरा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दिपककुमार खरालले जानकारी दिनुभयो । उहाँका अनुसार यही चैत १७ गतेबाट बर्दिया राष्ट्रिय निकुञ्ज र १९ गतेबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि यसैगरी गैँडा गणना काम सुरु गरिने भएको छ । यी दुई वटा निकुञ्जमा एक हप्ताभित्र गणनाका कार्य सम्पन्न गर्ने योजना विभागले बनाएको छ । आगामी बैशाख पहिलो हप्ता राष्ट्रिय गणनाको तथ्याङ्क सार्वजनिक गरिने भएको छ ।

गैँडा गणना कार्यमा चितवनमा ६० वटा, बर्दियामा नौ वटा र शुक्लाफाँटामा पाँच वटा हात्ती प्रयोग गरिने भएका छन् । यो गणनामा हात्तीको माउते, दक्ष प्राविधिक गणक गरी ३०० भन्दा बढी व्यक्तिको सहभागिता रहने भएको निकुञ्ज विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
गणना कार्यको शुभारम्भ समारोहमा बोल्दै वन तथा वातावरण मन्त्री आलेले नेपालको पहिचान एकसिङ्गे गैँडा हुन थालेकाले अब स्थानीय समुदाय, स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारको हातेमालोमा गैँडाको प्रभावकारी संरक्षण हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल भित्रिने पर्यटकहरु मध्य ६० प्रतिशत भन्दा बढी पर्यटक राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेर फर्किने गरेकोले सरकारको प्राथमिकतामा रहेको पर्यटन विकाससँगै संरक्षण पनि रहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीले पर्यटनलाई आर्थिक विकासका पूर्वाधार स्वीकार गरेको सरकारले वन्यजन्तुको संरक्षण र अस्तित्व जोगाउने खालका कार्यक्रम सञ्चालन गर्न कन्जुस्याई गर्न नहुने विचार राख्नुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चितवनका एक सिङ्गे गैँडाका कारण सौराहा जस्ता पर्यटकीय क्षेत्रमा भएको लगानीको संरक्षण र प्रवद्र्धन गर्न पनि वन्यजन्तुको संरक्षण आवश्यक भएको बताउनुभयो । गैँडा गणनाका लागि संरक्षण साझेदार संस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जेडएसएललगायतका संरक्षण साझेदार संस्थाहरुले सरकारलाई प्राविधिक तथा आर्थिक सहयोग सहयोग गरिरहेका छन् । विभागका अनुसार गणनामा एक करोड १० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

झण्डै छ वर्ष अघि सन् २०१५ मा गरिएको गैँडा गणनामा नेपालमा कुल ६४५ वटा गैँडा रेकर्ड गरिएका थिए । सबैभन्दा बढी गैँडा पाइने चितवनमा सन् २०१५ को गणनामा ६०५ वटा गैँडा रेकर्ड गरिएका थिए । बाँकी बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रेकर्ड भएका थिए । गैँडा गणनाको यो छैठौँ संस्करणमा यो संख्या बढेर सात सयको हाराहारी पुग्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?