दीपक श्रेष्ठ
काठमाडौँ, चैत १२ गते । राष्ट्रिय विभूति अरनिकोको १७ फिट अग्लो धातुको मूर्ति निर्माणकै चरणमा अवलोकनकर्ताको चाप बढ्दै गएको छ । धातु मूर्ति निर्माणमा महŒवपूर्ण मानिने ‘क्ले मोडलिङ’ अर्थात् माटोको मूर्ति निर्माण सम्पन्न भएपछि अवलोकन गर्न आउनेको चाप बढ्दै गएको हो । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले बुधबार मूर्ति अवलोकन गर्नुभएको छ ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले मन्त्री ढकालले अरनिकोको माटोको मूर्ति अवलोकन गर्नुभएको जानकारी दिँदै सो मूर्ति प्रतिस्थापनका लागि उपयुक्त स्थान खोजीमा सहयोग गर्न प्रतिष्ठानका तर्फबाट आग्रह गरिएको बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान परिसर नक्सालमा मूर्ति निर्माण गरिँदै छ । मूर्तिकार गङ्गाधर सारूको नेतृत्वमा देवेन्द्र पाण्डे, दीपक लामा र चन्द्रमणि मगरले छ महिना लगाएर ‘क्ले मोडलिङ’ तयार पार्नुभएको हो । माटोको मूर्ति तयार पार्न चार हजार दुई सय किलो माटो प्रयोग भएको छ । मूर्तिकार सारूले भन्नुभयो, “मूर्ति निर्माण प्रक्रियाको महŒवपूर्ण मानिने माटोको नमुना मूर्ति निर्माण सकिएको छ । सामाजिक सञ्जालबाट अरनिकोको मूर्ति सार्वजनिक भएपछि हेर्न आउने र सेल्फी खिच्नेको चाप बढ्दै
गएको छ । ”
ललितकला प्रज्ञा–प्रतिष्ठानले अरनिकोको मूर्ति प्रतिस्थापन गर्ने स्थानको खोजी कार्य अगाडि बढाएको छ । प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख तथा प्राज्ञ लालकाजी लामाका अनुसार अरनिकोको मूर्तिमध्ये सम्भवतः सबैभन्दा अग्लो धातु मूर्ति प्रतिस्थापनका लागि कोटेश्वरस्थित तीनकुने उपयुक्त हुनेछ ।
त्रिभुवन विमानस्थलको मुख्य द्वार, अरनिको राजमार्ग वा राजधानीको फराकिलो र घना आवतजावत हुने स्थानमा अरनिकोको मूर्ति प्रतिस्थापन गरिनु राम्रो हुने धारणा उहाँको छ । प्रतिष्ठानका कुलपति केके कर्माचार्यले मूर्ति प्रतिस्थापनका लागि माइतीघर, तीनकुने, रत्नपार्कलगायत स्थानमा प्रस्ताव गरिएको तर उपयुक्त स्थान नपाइए प्रतिष्ठान परिसरमै प्रतिस्थापन गरिने बताउनुभयो ।
मूर्तिकार सारूका अनुसार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०७० सालमा प्रतियोगितामार्फत अरनिकोको डिजाइन माग गरेको थियो । सो प्रतियोगितामा सारूको डिजाइन उत्कृष्ट भएको थियो । सोही डिजाइनअनुसार कलाकार सारूले तयार पार्नुभएको नमुना मूर्ति प्रथम भएको थियो । नेपाली कलाकार अरनिकोलाई २०२४ सालमा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । यद्यपि अरनिकोको कुनै चित्र वा तस्बिर थिएन । हुलाक सेवा विभागले २०२९ सालमा अरनिकोको हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेपछि कलाकार केके कर्माचार्यले अरनिकोको खोज, अध्ययन र अनुसन्धान थाल्नुभएको थियो । कुलपति कर्माचार्यले पुस्तक अध्ययन र विज्ञहरूसँगको छलफलपछि अरनिकोको मुहारचित्र पहिलोपटक तयार पारिएको बताउनुभयो ।