काठमाडौं, चैत १४ गते । युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१ ’ को तयारी पूरा गर्नुभएको छ । आइतबार जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उहाँले जापानका बक्सर खोतेजुसँग भिडन्त गर्दै हुनुहुन्छ । विश्वचर्चित सो भिडन्त हेर्न १० हजार भन्दा बढी जापानीले टिकट लिइसकेका जनाइएको छ ।
अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गर्नुभएको हो । उहाँले आज समाजिक सञ्जालमार्फत महोत्सवको आवश्यक तयारी प'रा भएको जनाउनुभएको छ । प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भन्नुभएको छ “ नेपाली बक्सर ‘के वान फेस्टिबल २०२१ ’मा छनोट हुनु आफैमा प्रतिष्ठाका विषय हो । म महोत्सवमा भाग लिएका अविवरलाई माया ,साथ र समर्थन गरिदिन विशेष आग्रह गर्दछु ।” उहाँका अनुसार सो भिडन्त आबेमा च्यानल मार्फत प्रत्यक्ष हेर्न सकिन्छ ।
महोत्सवमा विश्वका चर्चित बक्सरलाई मात्र खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल सो महोत्सवमा भाग लिने कम उमेरका पहिलो नेपाली युवा खेलाडी हुनुहुने बताइएको छ ।
सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका उहाँले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत हुनुभएको थियो । एक्काइस वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आउनुभएको छ ।
खेलाडी अविरलले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाउनुभएको छ । महोत्सवलाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने जनाइएको छ ।
वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिनुभएको जानकारीअनुसार अविरलले हालसम्म ४७ भन्दाबढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन् । तीमध्ये अधिकांश खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएको छ । युवा बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुम्नुभएको थियो । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए ।
यसैगरी उहाँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल हुनुभएको थियो । रोमाञ्जकारी सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्नुभएको थियो ।
अविरलले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल हुनुभएको गुर्जुराधास्थित अन्तरराष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहनुभएका रामनारायणले जानकारी दिनुभयो ।
अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आउनुभएको उहाँले बताउनुभयो । “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । नेपालको लागि ‘के वान फेस्टिबल २०२१’ मा भाग लिन छनोट हुनु नै ठूलो उपलब्धि हो”, उहाँले भन्नुभयो ।