शिवशङ्कर मिश्र
बारा, चैत १७ गते । प्रदेश २ का आठ जिल्लामा चालू आर्थिक वर्ष ०७७÷७८ को साउनदेखि फागुनसम्ममा दुईहजार ७८९ वटा विभिन्न सवारीसाधन दुर्घटनामा परेको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख तथा उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताउनुभयो । घटनाको मुख्य कारण भने चालकहरुले मादक पदार्थ सेवन गरेको, सवारीको उचित समयमा यान्त्रिक मर्मत नहुनु, बढी गतिसहितको ओभरटेक, भाँसिएको तथा बिग्रिएको सडक भएको उहाँले बताउनुभयो ।
सो दुर्घटनामा चारहजार ५५० जना यात्री परेकोमा ३५४ जनाको मृत्यु भएको तथा एक हजार ३१५ जना गम्भिर घाईते भएको र दुई हजार ८८१ जना सामान्य घाइते भएका छन् । दुर्घटना न्यनीकरण गर्न बेलाबेलामा चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको बारेमा जानकारी दिनुको साथै चेकजाँचमा कडाइ गरिएको छ । यता, प्रदेश २ का आठ वटा जिल्लामा सोमबार होलीको दिन बिहान छ बजेदेखि रातिसम्म सानोठूलो गरी २५६ सवारीसाधनलाई होल्ड गरी राखिएको थियो ।
उनीहरुमध्ये ४३ जना मादक पदार्थ सेवन गरेका तथा २१५ जना हेलमेट नलगाएको, ब्लू बुक साथमा नराखेका र तीन जना चढेका सवारीसाधनलाई कारवाही गरिएको प्रदेश प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।