logo
२०८१ माघ २९ मंगलवार



मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग

खुला |


मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग


भक्तपुर, जेठ १ गते । मध्यपुरथिमि नगरपालिकाले रु. ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड–१९ का बिरामीलाई दिन शुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गएराति १० बजेसम्म अस्पतालमा बसेर उत्पादन परीक्षणको अवलोकन गरेको थियो । परीक्षण सफल भएपछि प्लान्टबाट अक्सिजन पाइपमार्फत बिरामीको शय्यामा पुरयाएर अक्सिजन वितरण गर्न थालिएको हो ।

प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई दिन थालिएको हो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नेपाल मै पहिलो पटक यो अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने एयर बेस अक्सिजन प्लान्ट जडान गर्न सफल भएका छौँ, अहिलेको अभावमा यसले धेरै राहत दिएको छ ।”
एकदिन अघिसम्म अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन अक्सिजनको खोजीमा सीसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, अक्सिजन कम्पनीसम्म धाउने, एउटा सिलिण्डर खोज्दै बिरामी बचाउन व्यस्त रहनुपर्ने अवस्थाबाट अलिकति राहत मिलेको उहाँको भनाइ छ । हाल चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एयर बेस अक्सिजन प्लान्ट नगरपालिकाले चीनबाट दुई महिना लगाएर ल्याएको हो ।

“बल्ल मेशिन ल्यायौँ, यो प्लान्ट राख्न केहीले अवरोध गर्न खोज्दा ढिलाे भयो, १० दिनमा आइसियू भवनमा जोडेर टहरा बनाएर चार दिनसम्म १५ जना रातदिन खटेर प्लान्ट जोडियो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विद्युत प्राधिकरण मध्यपुरथिमि शाखाका प्रमुखदेखि इञ्जिनियरको टोली खटेर अक्सिजन उत्पादन गरेपछि अक्सिजन खोज्दै भौँतारिनुपर्ने तनावबाट केही हदसम्म मुक्त भएका छौँ ।”
प्रति घण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ । यसले आइसियू, हाइकेयर युनिट र भेन्टिलेटरका २४ बिरामीलाई अक्सिजन पुग्छ । आकस्मिक कक्षलगायतका ठाउँमा राखिएका १९ बिरामीलाई दैनिक ३० सिलिण्डर अक्सिजन आयात गरे पुग्नेछ । विगतमा दैनिक ९० सिलिण्डर अक्सिजन खपत हुने गरेको थियो ।
नगरपालिकाले हाल ४२ वटा शय्या सञ्चालन गरी कोभिडका बिरामीको उपचार गरेको छ । अस्पतालको पुरोना क्यान्टिन रहेको भवन र नयाँ बन्दै गरेको रेडियोलोजी ब्लकको भुइँतलामा थप २० शय्या विस्तार गरिसकिएको छ । अक्सिजन अभावले थप बिरामी राख्न नसके पनि अब केही दिनभित्रै ती शय्या पनि सञ्चालनमा ल्याउने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

आउँदो १८ तारिखमा अमेरिकामा रहेको नेपाल इन्गेज नामक संस्था तथा नेपालका लागि पूर्वराजदूत स्कट डेलिसिले सहयोग सङ्कलन गरेर करिब ५५ लाखमा चीनबाट ४० वटा अक्सिजन उपकरण यस अस्पताललाई सहयोग आउने भएको छ । नगरप्रमुख श्रेष्ठले अमेरिकाका दाताहरुबाट विद्युतमा जोडेर अक्सिजन प्रवाह गर्न सकिने ‘अक्सिजन कन्सन्ट्रेटर’ ४० वटा तीन दिनभित्र आइपुग्ने बताउनुभयो । आईसियू र भेन्टिलेटरमा राख्न नपर्ने आकस्मिक कक्ष तथा आइसोलेसनमा राखेर उपचार हुने बिरामीका लागि ‘अक्सिजन कन्सन्ट्रेटर’ जडान गरी अक्सिजन दिन सकिनेछ ।
अक्सिजन नभएकै कारण भर्ना भएका बिरामी फर्काउनुपर्ने अवस्थाको अब अन्त्य हुने र केही दिनमै २० शय्या थपेर कोभिडका कम्तीमा ६० बिरामीको उपचार गरिनेछ । हाल सात भेन्टिलेटर, १० आइसियू, १४ हाइकेयर युनिटसहित ४२ शय्या सञ्चालन गर्दै आएको यो अस्पताललाई काठमार्डौ महानगरपालिकाले थप तीन भेन्टिलेटर सहयोग गर्ने भएको छ । अस्पतालमा हाल दुई वटा पोर्टेबल भेन्टिलेटर सञ्चालनमा छन् ।

बाबा सहकारीको नेतृत्वमा मध्यपुर थिमिभित्र सञ्चालित केही सहकारीले हाइकेयर युनिटका लागि १० वटा मोनिटर सहयोग गर्ने भएका छन् । त्यस्तै एन्फो गैरसरकारी संस्थाले १० शय्या, टेबल, मोनिटर, तीन वटा इसिजि, पिपिइ, स्यानिटाइजर लगायतका सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस सङ्क्रमितको उपचारमा नगरपालिका सक्रिय भएको नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले जानकारी दिनुभयो । उहाँले अस्पतालमा शय्यादेखि प्रविधिसमेत थप गर्दै आफ्ना नागरिकलाई सुरक्षित राख्न विभिन्न निकायबाट सहयोग माग र प्राप्त भइरहेको बताउनुभयो ।

नगरपालिकाका सूचना अधिकृत एवं कानून शाखा प्रमुख केशव सिलवालले नगरपालिकाले हाल बोडेको कृषि विकास बैंकको तालिम भवनमा कोभिड सङ्क्रमित आफ्ना नगरवासीका लागि दुई स्वास्थ्यकर्मीसहितको आइसोलेसन सञ्चालन गरेको जानकारी दिनुभयो । ५५ जनासम्म सङ्क्रमित राखेको यहाँ नगरपालिकाले २४ सै घण्टा दुई जना स्वास्थ्यकर्मी परिचालन गरी आइसोलेसनमा निःशुल्क बिरामीको उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?