नगेन्द्र सापकोटा
ललितपुर, जेठ ८ गते । ललितपुर महानगरपालिकाले कोरोना सङ्क्रमितका लागि सञ्चालन गरेको दुईवटा आइसोलेसन सेन्टरमा मनोचिकित्सक परामर्श सेवा प्रदान गर्न थालेको छ । कोरोना सङ्क्रमितको मनोबल उच्च पार्ने उद्देश्यले महानगरपालिकाले सङ्क्रमितलाई मनोचिकित्सक परामर्श सेवा प्रदान गर्न थालेको हो ।
महानगरपालिकाको वडा नं. २६ स्थित सुनाकोठीको नेपाल युथ फाउन्डेसनको पोषण पुनस्र्थापना गृहमा ५० शय्या आइसोलेसन र वडा नं. ४ स्थित बागडोलको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा सञ्चालन गरेको ११० शय्याको आइसोलेसनमा रहेका सङ्क्रमितलाई मनोचिकित्सक सेवा प्रदान गर्न थालिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
कोरोना सङ्क्रमितको मनोबल उच्च हुँदा कोरोनासँग लड्न अझ सहज हुने भएकाले महानगरपालिकाले संस्थागत आइसोलेसनमा बसेका सङ्क्रमितलाई मनोचिकित्सक परामर्श सेवा सञ्चालन गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
मनोचिकित्सक डा. रितेश थापाले महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा आफूले दैनिक फोन सम्पर्कबाट मनोचिकित्सक परामर्श सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमित भएर आइसोलेसन बसेका कतिपय व्यक्ति मानसिक रूपमा कमजोर हुने र त्यसले झनै बिरामीलाई शारीरिक रूपमा कमजोर पार्छ । मनोचिकित्सक परामर्शले बिरामीको मनोबल उच्च हुने र बिरामीमा रोगसँग लड्न सक्ने क्षमताको वृद्धि हुन्छ ।
“भर्खर सञ्चालन गरिएको मनोचिकित्सक सेवाबाट केही कोरोना सङ्क्रमितलाई आत्मबल बलियो बनाउन थप सहयोग पुगेको छ’’, उहाँले भन्नुभयो–“साइकोथेरापीको मार्गनिर्देशनलाई आधार बनाएर बिरामीको आत्मबल वृद्धि गर्ने हो, आत्मबल बढ्ने बित्तिकै शारीरिक रूपमा बिरामीलाई हलुका भएको महसुस हुने र त्यसले रोग निको बनाउन सहयोग पुग्छ । ” साइकोथेरापीका माध्यमबाट बिरामीको नकारात्मक सोच हटाई सकारात्मक सोच बढाउने काम गरिन्छ ।
महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसन गृहमा सङ्क्रमितलाई अस्पतालमा बस्दा औषधि उपचारले निको भएको तर अक्सिजनको आवश्यकता पर्ने कोरोना सङ्क्रमित बिरामीलाई पुनः आइसोलेसनमै लगेर अक्सिजन प्रदान गर्दै आएको प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन मात्र आवश्यक पर्ने सङ्क्रमितलाई महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखेर सेवा दिँदा अस्पतालमा अर्को बिरामीले शøया पाउने र अर्को व्यक्तिको जीवन बच्न सहयोग पुग्न सक्छ । ”
आइसोलेसन सेन्टरमा मनोचिकित्सक सेवासँगै सङ्क्रमितलाई अक्सिजन सेवा, निःशुल्क सन्तुलित भोजनको समेत व्यवस्थापन गरिएको छ, नेपाल युथ फाउन्डेसन र सुन्दर ढोका साथी समूहले सन्तुलित भोजन खुवाउने व्यवस्था गरेको महानगरपालिकाले जनाएको छ । उक्त दुईवटा आइसोलेसन
सेन्टर कोरोना सङ्क्रमितले भरिँदै गए महानगरपालिकाले पाटन हाइस्कुल वा मदन स्मारकमा थप आइसोलेसन सञ्चालन गर्ने तयारी गरेको छ ।
महानगरपालिकाले यसअघि पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि एक करोड रुपियाँ दिइसकेको छ । पाटन अस्पतालको स्वास्थ्य पूर्वाधार थप गर्न अक्सिजन कन्सन्ट्रेटर र पोर्टेबल भेन्टिलेटर प्रदान गर्न लागिएको महानगरपालिकाले जनाएको छ । महानगरले कोराना नियन्त्रण गर्न प्रत्येक वडालाई तीन लाखका दरले रकम उपलब्ध गराएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा ¥यापिड रेस्पोन्स टिमका संयोजक गणेश अर्यालले विभिन्न सङ्घ संस्थासँग समन्वय गरी ती संस्थाको भौतिक पूर्वाधार प्रयोग गरेर महानगरले आइसोलेसन सेन्टर बनाएको जानकारी दिनुभयो ।