logo
२०८१ बैशाख ६ बिहीवार

  दृश्य समाचार  



संक्रमितलाई बलियाे सहारा बन्दै स्थानीय आइसोलेसन

खुला |


संक्रमितलाई बलियाे सहारा बन्दै स्थानीय आइसोलेसन


मुकुन्द गैरे,दृश्यमा मनोजरत्न शाही र केशब गुरुङ्ग
काठमाडौं, जेठ १९ गते । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दो छ । कोरोना संक्रमित विरामीका लागि सुरक्षित आइसोलेशन प्रर्याप्त नहुँदा जोखिम मोलेर घरमै बस्नुपर्ने वाध्यता छ । अहिले यही वाध्यता हेरेर संक्रमितको लागि आइसोलेशन बनाउने काम स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुले पनि गरिरहेका छन् ।


हालै काठमाडौं महानगरपालिकाको सहयोगमा नरदेवी आयुर्वेदिक अस्पतालमा पनि कोभिड संक्रमित विरामीलाई सरल र सहज रुपमा उपचार गर्न सरकारी तथा सामुदायिक अस्पतालसँग सहकार्य गरेर निःशुल्क आइसोलेशन सञ्चालनमा ल्याएको छ ।

जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै तयारीसहित अस्पताल सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिका वडा न १८ का वडा अध्यक्ष न्हुछेँकाजी महर्जनले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । कोरोना संक्रमितको लागि आवश्यक पर्ने अक्सिजनसहित स्वास्थ्य सेवा उपलब्ध गराएर आइसोलेशन सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

यस आइसोलेशनमा संक्रमितहरुको लागि औषधीसहित निःशुल्क रुपमा बस्न र खान पाइन्छ । उहाँका अनुसार धेरै संक्रमितहरु यहाँबाट निको भएर घर फर्कनुभएको र बाँकी संक्रमितको अवस्था पनि सामान्य छ ।
यस्तै, बाक्लो वस्तीमा धेरै कोरोना संक्रमित भएसँगै एउटै घर र कोठामा परिवारसँग बस्नु परेकाले संक्रमणको दर बढेकाले पनि वाध्यतामा रहेकाहरुको लागि अस्पताल सञ्चालनमा आएपछि जोखिम कम भएको काठमाडौं महानगरपालिका वडा न १७ का वडा अध्यक्ष नवीन मानन्धर बताउनुहुन्छ ।

यस आइसोलेशनमा १० वर्ष उमेरदेखि ७०–७५ उमेरसम्मका संक्रमितले सेवा लिएको उहाँका भनाइ छ । यसैबीच, काठमाडौं महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयले विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । केही दिन अघि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर तथा कामपा प्रमुख विद्यासुन्दर शाक्यले विशेष कोभिड अस्पताल सञ्चालनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप