logo
२०८१ मंसिर १२ बुधवार



चितवनमा नब्बे प्रतिशत कोरोना संक्रमित घरको आइसोलेशनमा

खुला |
समाज |


चितवनमा नब्बे प्रतिशत कोरोना संक्रमित घरको आइसोलेशनमा
फाइल फाेटाे



शालिग्राम नेपाल
चितवन, जेठ ३० गते । चितवनमा कोरोना संक्रमितहरु ९० प्रतिशत घरमा नै बस्ने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आइतबार सार्वजनिक गरेको विवरणमा कोरोना संक्रमितको रोजाइ नै घरको आइसोलेशन भएको पाइएको हो । कोरोना दोस्रो लहर सुरु भएपछि विरामीहरु घरमा नै बस्न रुचाएको पाइएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाभर जम्मा आइसोलेसनमा एक हजार ५९३ जना छन् जसमध्ये एक हजार ४१८ जना घरमा नै आइसोलेसनमा रहेका छन् । जुन जम्मा संख्याको ८९ प्रतिशत बढी हुन आउँछ । त्यसैगरी, अस्पतालको आइसोलेसनमा १३९ जना र सार्वजनिक आइसेलेसनमा ३६ कोरोना संक्रमित रहेका छन् । यस तथ्यांक हेर्दा अधिकांश संक्रमितको रोजाइमा अस्पताल या सार्वजनिक आइसोलेसन भन्दा घरको आइसोलेसन नै बढी रोजाइमा पर्न गएको देखिन्छ ।

अघिल्लो लहरमा भने घरमा आइसोलेसनमा बस्नेहरुको संख्या निकै कम थियो । भरतपुर अस्पतालका कोभिड कोअर्डिनेटर डा. प्रमोद पौडेलले घरलाई नै सुरक्षित मानेर अधिकांश संक्रमितहरु घरमा नै बस्ने गरेको जानकारी दिनुभयो । ‘खानपान र हेरचाहको हिसाबले पनि मानिसहरुले अस्पताल भन्दा घरलाई नै सजिलो मानेका छन् । तर, कोरोना संक्रमित भएपछि खतराको अवस्था भने पहिचान गर्नुपर्छ । लास्ट स्टेजमा अस्पताल गए बचाउन सकिँदैन ।’ उहाँले भन्नुभयो । घरमा आइसोलेसनमा बस्नेहरु खतराको संकेतहरुबारे भने सचेत हुनुपर्ने उहाँले सुझाव दिनुभयो ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनमा विगत २४ घण्टामा २४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकाका १७ जना, खैरहनीका २ जना, माडीका १ जना, रत्ननगरका २ जना र इच्छाकामनाका दुई जना रहेका छन् । आइतबारसम्म चितवनमा २४४ जनाको कोरोना संक्रमणको कारणले निधन भएको छ ।

निषेधाज्ञा खुकुलो हुँदै
जिल्ला प्रशासन कार्यालयले असार ३ गतेसम्म थपेको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गरी निषेधाज्ञा केही खुकुलो गरिएको जानकारी दिएको हो । प्रशासनले जारी गरेको सूचनामा यस अघिको आदेशलाई संशोधन गरी राजमार्ग हुँदै आवतजावत गर्ने मालवाहक सवारीसाधनमा कुनै रोकतोक नगरिने जनाएको छ । त्यस्तै, निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधन बिहान ६ बजेबाट ७ बजेसम्म सञ्चालन गर्न सकिने र खाली फिर्ता हुने सवारी साधनमा पनि कुनै रोकतोक नगरिने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?