झापा, असार ७ गते । माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर बेपत्ता हुनुभएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आउनुभएका सोरेन आइतबार माछापोखरीमा डुबेर बेपत्ता हुनुभएको थियो ।
नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उहाँ बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो । उहाँको शव उद्धार टोलीले आज बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ । उहाँ नगरप्रमुखको घरमा पाँच वर्षदेखि सपरिवार बस्दै आउनुभएको थियो । उहाँका श्रीमती, एक छोरी र दुई छोरा छन् ।