logo
२०८१ बैशाख ७ शुक्रवार



मेलम्चीकाे हेड बक्ससम्म पुग्ने बाटाे बनाउन नेपाली सेनासँग छलफल

खुला |


मेलम्चीकाे हेड बक्ससम्म पुग्ने बाटाे बनाउन नेपाली सेनासँग छलफल



मुकुन्द गैरे
काठमाडौं, असार १५ गते । मेलम्ची खानेपानी आयोजनाको हेड बक्ससम्म पुग्नको लागि आवश्यक पर्ने सडक र पुल बनाउन सडक विभाग र नेपाली सेनाको सहयोग लिने तयारी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले बाढीले बिगारेको बाटो र पुल बनाउन लागि नेपाली सेना र सडक विभागसँग समन्वय गरी काम गर्न छलफल अगाडि बढेको बताएको छ ।

मेलम्चीको बाढीले पुरिदिएको हेडबक्स मर्मत गर्न आवश्यक सामग्री लैजान सडक र पुलको आवश्यक पर्ने भएकोले चाँडो काम गर्ने उद्देश्यले नेपाली सेना र सडक विभागसँग कुराकानी भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्कस् रहेको ठाउँसम्म पुग्ने बाटो बनाउने काम हेलम्बु गाउँपालिकाको एक र दुई वडा कार्यालयसँगको समन्वयमा बाटो खोल्ने काम सुरु भएको समितिका प्रवक्ता पन्तले जानकारी दिनुभयो ।
स्थानीय तहले पनि बाटो केही दिन देखि खोलिरहेको र अझै छिटो काम गर्नको लागि नेपाली सेनासँग पनि समन्वय गर्न लागिएको समितिको भनाइ छ  ।

अवको तीन हप्ता भित्र बाढीले पुरिएको बाटो खोल्ने काम सम्पन्न गर्ने लक्ष्य रहेकोे उहाँले बताउनुभयो । बाटो र पुल नबनेको अवस्थासम्म आयोजनालाई चाहिने उपकरण, सामान लैजान नसकिने भएकाले बाटो खोल्ने कामलाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक छलफल भएको समितिको भनाइ छ ।

बाटो बनेपछि सामान राख्ने ठाउँसँगै मानिस बस्ने संरचना समेत बनाउनु पर्नेछ । त्यसपछि प्राविधिक टोलीसँगै कामदारहरुले काम अगाडि बढाउने छन् । हेडबक्समा तीनदेखि चार लाख घन मिटर बालुवा माटो थुपिएको आयोजनाको अनुमान छ ।

हेडबक्ससम्म पुग्न पाँच वटा पुलको आवश्यकता पर्छ भने करिव ५ किलो मिटर बाढीले पुरिदिएको सडक खोल्नुपर्ने तत्कालको लागि आवश्यक छ । त्यसको लागि डोजरको सहायताले बाटो सफा गर्नुपर्ने हुन्छ । खानेपानी आयोजनाको क्षतिबारे प्राविधिक टोलीले केही दिन अघि खोलाबारीबाट हेरिसकेको तर बाटो नबन्दा त्यहाँ काम अगाडि बढाउन नसकिने अवस्था छ ।

बाढीले बिगारेको आयोजनामा स्थलगत रुपमा काम गर्न उपकरण सामग्री चाहिने भएकाले त्यहाँसम्म पुग्न पहिलो कुरा सडकको आवश्यकता भएको आयोजनाको भनाइ छ । यसैगरी स्थायी संरचनामा बाढीले असर नगरेको कारण नदीमा सङलो पानी बगेको अवस्थामा दशैं, तिहार अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउने प्रवक्ता पन्त बताउनुहुन्छ ।

पानी ल्याउनको लागि अम्बाथानको टनेल भरिएको बालुवा सफा गर्नुपर्ने हुन्छ । भरिएको बालुवा सफा गरेको अवस्थामा भदौ, असोज महिनाको अन्तिमसम्म सुरुङमा पानी हाल्न सकिने आयोजनाको भनाइ छ । बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवर्क, पुल तथा मुहानको संरचनामा क्षति पु–याएको छ । आयोजनाको अस्थायी संरचनामा क्षति पु–याएको भए तापनि मुख्य सुरुङलगायत स्थायी संरचनामा असर नगरेका कारण ठूलो क्षति हुनबाट जोखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप