logo
२०८१ माघ २३ बुधवार



तापक्रम वृद्धिदर अहिलेकै अवस्था रहे पृथ्वीमा पानीको मात्रा बढ्ने

खुला |


तापक्रम वृद्धिदर अहिलेकै अवस्था रहे पृथ्वीमा पानीको मात्रा बढ्ने


काठमाडौं, असार २३ गते । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याउनुभएको छ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उहाँहरुले औँयाउनुभएको हो ।

स्वच्छ ऊर्जा नेपालसँगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले सोमबार आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन विषयका विज्ञ मञ्जित ढकालले सन् २०५० सम्ममा अहिलेको हिसाबले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा आ देखि १२ प्रतिशतसम्म पानीको मात्रामा वृद्धि हुनसक्ने बताउनुभयो । “अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन् २०५० सम्ममा पृथ्वीको तापक्रम थप एक दशमलव तीन डिग्री सेल्सियसदेखि एक दशमलव आठ डिग्री सेल्सियससम्म पुग्नसक्छ”, उहाँले भन्नुभयो । अहिलेसम्म पृथ्वीको आर्सम तापमान (औद्योगिकीकरण समयपछि) करिब एक डिग्री सेल्सियसले वृद्धि भइरहेको उहाँले जानकारी दिनुभयो ।

सन् २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको छ । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपद्का घटना पनि जलवायु परिवर्तनको प्रभावले भएको विज्ञ ढकालले बताउनुभयो । उहाँका अनुसार नेपालमा भएका सुक्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरुको मुख्य कारण नै जलवायु परिवर्तन हो । साथै उहाँले जलवायु परिवर्तनको असरले पारेको जोखिम न्यूनीकरणमा नेपाल सरकारले राम्रा कामहरु पनि गरिरहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब तीन हजार २५२ हिमनदी र दुई हजार ३२३ हिमतालहरु छन् । धेरैजसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ भने २० वटा हिमताल जोखिममा छन् । विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदीहरु द्रुत गतिमा पग्लिँदै गइरहेका छन् ।

वातावरण पत्रकार राजेश घिमिरेले बढ्दो तातोपनाका कारण विशेषगरेर झाडापखाला र लामखुट्टे जातिबाट सर्ने मलेरिया, कालाजार, जापानिज इन्सेफलाइटिस् जस्ता रोगमा वृद्धि भई यसबाट हुने मृत्युदर बढ्ने र बाढी पहिरोका घटनाको बेला शुद्ध पिउने पानीको अभावले धेरै मानिसहरु पानीजन्य रोगबाट पीडित हुनसक्ने बताउनुभयो ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चका अनुसार सन् १८८० देखि २०१२ सम्ममा पृथ्वीको औसत तापक्रम शून्य दशमलव ८५ डिग्री सेल्सियसले बढिसकेको छ र यो क्रम जारी छ । पृथ्वीको आर्कटिक क्षेत्रको समुद्री बरफ प्रतिदशक तीन प्रतिशतले घटिरहेको छ । यस्तै सन् १९०० देखि २०१९ को अन्त्यसम्मको समयावधिमा समुद्री सतह शून्य दशलमव १८ देखि शून्य दशमलव दुई मिटरले बढेको छ ।

परिवर्तित जलवायुमा अनुकूलतापूर्वक बाँच्नका लागि स्थानीय व्यक्तिहरूले अवलम्बन गरेका कार्यको पहिचान गरी त्यसको विकास तथा आदानप्रदान गर्ने काम नेपाल सरकारले गरिरहेको छ । स्वच्छ ऊर्जा नेपालले पनि अनुकूलनसँग सम्बन्धित विभिन्न कोषलाई जोखिमपूर्ण अवस्थामा रहेका समुदायसम्म पु¥याउन स्थानीय, क्षेत्रीय र राष्ट्रिय संयन्त्र र संस्थागत संरचनाको विकास गर्ने काममा पैरवी गरिरहेको जनाएको छ ।

जलवायुसम्बन्धी जनचेतना अभिवृद्धि, शैक्षिक क्षेत्रमा यसको पाठ्यक्रमको विकास र विभिन्न सरोकारवालाबीचको सहकार्य र समन्वयलाई प्रोत्साहन गर्ने कामलाई पनि अनुकूलनको अभ्यासका रूपमा लिन सकिने स्वच्छ ऊर्जा नेपालका वरिष्ठ अधिकृत लालमणि वाग्लेले बताउनुभयो ।

ऊर्जाका लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवं कोइलाको प्रयोगमा कम गर्न सकिन्छ । नवीकरणीय ऊर्जाहरु सौर्य ऊर्जा, जलविद्युत्, वायुशक्ति, बायो ग्यास, भू–ताप आदिको प्रवर्धन गरी उपयोग गरेमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने विज्ञहरुको सुझाव छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?