गाेरखापत्र समाचारदाता
काठमाडौं, असार २८ गते । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कमभएसँगै सरकारले निषेधज्ञा खुकुलो बनाएपछि हवाई उडान वृद्धि भएको छ । त्रिभुवन विमानस्थलको तथ्याङक अनुसार दैनिक ८३ वटा आन्तरिक उडान हुने गरेको छ ।
विमानस्थलको तथ्याङकअनुसार आइतबार ८२ वटा आन्तरिक उडान भएका थिए । यी मध्ये आठ हजार ८७४ यात्रुले हवाई मार्गबाट यात्रा गरेका छन् । आइतबार मात्र चार हजार १९३ यात्रु काठमाडौंबाट बहिरिएका थिए भने चार हजार ६८१ जना यात्रु काठमाडौं प्रवेश गरेका थिए ।
कोभिड संक्रमणको दर कम भए पनि विमानस्थलले भने स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्दै आएको विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीले जानकारी दिनुभयो । विमान सञ्चालक कम्पनी र यात्रुलाई समेत स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्दे सुरक्षित हवाई उडान गराउँदै आएको उहाँले बताउनुभयो ।
असार २६ गते भने ८३ वटा आन्तरिक उडान हुँदा आठ हजार ९०५ जनाले यात्रा गरेका थिए । जसमा चार हजार ६४९ जनाले काठमाडौं भित्रिएका थिए भने चार हजार २५६ जना काठमाडौं बाहिरिएको विमानस्थलको तथ्याङकमा छ । विमानस्थलका अनुसार सोमबार १६ वटा अन्तराष्ट्रिय उडान तोकिएका छन् ।
यी मध्ये पाँच वटा कार्गो र ११ वटा निर्धारित उडान रहेका छन् । सरकारले असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । हाल बुद्ध, यति, श्री, सौर्य, नेपाल एअर, तारा, समिट र सीता एअरले दैनिक उडान गर्दै आएका छन् ।