विष्णुप्रसाद पोखरेल
दमक, असार ३१ गते । खाना पकाउनका लागि गोबर गुँईठा बाल्दै आएका परिवारहरुले ग्यास चुलो पाएका छन् । उनीहरुले ग्यास चुल्हो किनेर खाना पकाएर खाने कल्पना समेत नगरेको अवस्था थियो । हिउँदमा गाईबस्तुका गोबर बटुलेर सुन्टिमा लगाई घाममा सुकाएर वर्षामा त्यही गँुईठाको प्रयोग स्थानीयले गर्दै आएका छन् ।
गौरीगन्ज गाँउपालिका वडा नं. १ वडा कार्यालयले दाउरा तथा गुँईठा प्रयोग गर्दै आएका परिवारहरुलाई ग्याँस चुलो प्रदान गरेको हो । यो पाउन त पाईयो तर कसरी बाल्ने भन्ने मलाई थाहा छैन, ६५ वर्षीया साइली सोरेनले ग्यास चुलो पाएपछि भन्नुभयो । बर्षाको यो समय दाउरा जुटाउन मुश्किल भएको अवस्थामा ग्यास पाएको भए पनि कसरी बाल्ने भनेर उहाँमा चिन्ता थियो ।
एउटै टोलका उहाँ सहित ५ सन्थाल घरपरिवारले पहिलो चोटी घरमा ग्यास भित्र्याएको जनाईएको छ । चौरी टोलका ५ सन्थाल परिवारलाई ग्यास कसरी बाल्ने भन्ने थाहा नभएको पाईएपछि त्यहि ग्यास बाल्न सिकाईएको थियो । उक्त घरहरुमा स्थानीय सन्थाल युवा सोम सोरेनले ग्यासचुलो बाल्न सिकाइदिने प्रतिबद्धता जनाएपछि उहाँहरु ढुक्क बन्नुभयो ।
ग्यास चुलो पाएपछि स्थानीय सोम सोरेनले औघि खुशि लागेको बताउनुभयो । दैनिक मजदुरी गरेर पेट पाल्न त मुश्किल रहेको अवस्थामा ग्यास किनेर बाल्नु सपनाभन्दा बाहिरको कुरा थियो, उहाँको भनाई छ । हाम्रा बुबाबाजेको पालादेखि नै दाउरा र गोबर गुँईढा बाल्ने गरेको देखेको थिए र हामी पनि त्यही गर्दै थियौं, उहाँले भन्नुभयो ।
यस वार्डका ५ सन्थाल परिवारसहित ६५ जना विपन्नलाई चुलोसहितको ग्यास सिलिण्डर वितरण गरिएको वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले बताउनुभयो । यसका लागि चार लाख रुपैयाँ बजेट लागेको पनि जनाइएको छ ।
वार्ड कार्यालयले वितरण गरेको ग्यास चुलो ।