अमरराज नहर्की
तनहुँ, असार १ गते । ट्रयाक खोलेको झण्डै तीन दशकपछि सहिदको सम्झनामा नामाकरण गरिएको तनहुँको एक मोटरमार्ग कालोपत्रे गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं. ७ स्थित सहिद गीता मोटरमार्गको कालोपत्रे गरिएको हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि सहादत प्राप्त गर्नु भएकी स्थानीय गीता विक अन्जुको सम्झनामा मार्गको नामाकरण गरिएको थियो । तत्कालिन माओवादीले शुरु गरेको सशस्त्र जनयुद्धको समयमा गीताले २०५८ साल माघ २३ गते म्याग्दे गाउँपालिकाको छाङ साउनेपानीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गर्नुभएको थियो । कलाकार समेत रहनुभएकी गीताले सहादत प्राप्त गरेपछि उहाँको सम्झनामा मार्गको नामाकरण गरिएको थियो । २०३९ साल वैशाख ५ गते जन्मनुभएकी गीता कलिलै उमेरमा माओवादी जनयुद्धमा होमिनु भएको थियो ।
स्थानीय हर्कबहादुर गुरुङका अनुसार २०४९ जेठ २ मा सडकको ट्रयाक खोलिएको थियो । मोटरमार्गको तीन सय मिटर मार्ग कालोपत्रे भएको छ । कालोपत्रे सडकको पूर्वमन्त्री तथा गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले बिहीबार उद्घाटन गर्नुभएको छ । सो अवसरमा कोइरालाले सहिदको सम्झनामा मार्गको नामाकारण गरिएकोले सहिदप्रति सम्मान भएको बताउनुभयो । विकासका लागि एकता अपरिहार्य भएको धारणा पूर्वमन्त्री आशाले बताउनुभयो । ‘‘आफ्नो गाउँ आफै राम्रो बनाउने भावना जागृत हुनुपर्छ त्यसपछि सरकारसँग सहयोग लिन पनि सजिलो हुन्छ’’ आशाले भन्नुभयो । उपभोक्ताको सक्रियता, जनप्रतिनिधिको पहल र सरकारको तकारूकताबीच सही समन्वय भए विकासले गति लिने उहाँको भनाइ छ । वडा अध्यक्ष रामबहादुर थापाले गण्डकी प्रदेश सरकार, शुक्लागण्डकी नगरपालिका र स्थानीयबासीको साझेदारी गरि कुल ४० लाख ६० हजार ३४७ रुपैयाँमा सडक कालोपत्रे भएको जानकारी दिनुभयो । कालेपत्रेसँगै छ सय मिटर पक्कि नाला पनि निर्माण भएको उपभोक्ता समितका अध्यक्ष शिव पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलका अनुसार पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्य आशाले ५ लाख विनियोजन गरेपछि कालोपत्रेको लागि स्थानीय जागृत भएका थिए । स्थानीय जनताको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लागत सहभागितामा कालोपत्रे गरिएको हो । शुक्लागण्डकी नगरपालिकाले १७ लाख ५० हजार र सोही रकम बराबरको जनसहभागितामा कालापत्रे गरिएको हो । गत वर्ष प्रदेशसभा सदस्य आशाले ७ लाख रुपियाँ नाला निर्माणको लागि वजेट विनियोजन गरिदिनु भएको उद्घाटन कार्यक्रममा जानकारी दिइएको थियो । धेरे वर्षपछि सडक कालोपत्रेको सुरूवात भएकोमा स्थानीय उत्साहित भएका छन् तर सडकको आधा भन्दा बढी भाग अझै कच्ची भएकाले बाँकी मार्गको छिट्टै कालोपत्रे गर्ने योजना ल्याउन सरकारसँग स्थानीयले माग गरेका छन् । ५० प्रतिशत लागत सहभागिता व्यहोरेर पनि विकास निर्माण लागेकोमा सांसद आशाले स्थानीयको प्रशंसा गर्नुभएको थियो ।