बिदुर आचार्य,
चौतारा, साउन १५ गते । सधैं विवादित भई चर्चामा रहने सिन्धुपाल्चोकको सुनकोशी र इन्द्रावती नदी दोहन रोकिएको छैन । वर्षाको तीन महिना नदीजन्य सामाग्री उत्खनन्, भण्डारण गर्न नपाउने निर्देशिका भए पनि बाह्रै महिना नदी दोहनको क्रम निरन्तर भैरहैको छ ।
पटक पटक नदी संरक्षण र उत्खनन् , भण्डारण तथा विक्री गर्ने नियम अनुसार नै गर्ने र निरन्तर अनुगमन गर्ने सहमति भए पनि सहमति कार्यान्वयनमा निकै समस्या भैरहेको पाइएको छ । अवैध उत्खनन् गरी नदीजन्य सामग्री निर्यात गर्दै रहेको अवस्थामा गत साता छ वटा टिप्पर नियन्त्रणमा लिएर जरिवानाका लागि जिल्ला समन्वय समितिमा पत्राचार गरिएकोमा चार वटालाई जरिवाना गराएको जानकारी जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ ।
राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको पर्यटकीय ‘डेस्टिनेसन’को रुपमा परिचित सुनकोशी नदी करिडोरमा नदी दोहनकै कारण पर्यटन व्यवसायमा असर परेको व्यवसायीहरुले पटक पटक गुनासो गरेका छन् ।
पर्यटकीय क्षेत्र सुकुटेका व्यवसायीहरुले ¥याफ्टिङ गराउँदा दैनिक फरक फरक नदीको बहाव बनाइएकोमा आपत्ति जनाएका छन् । प्राकृतिक सम्पदालाई नबिगार्न पर्यटन व्यवसायीहरुले आग्रह गरेका छन् । बढ्दो नदी दोहनले पर्यावरणमा समस्या सिर्जना हुने र पर्यटकीय गन्तब्य नै परिवर्तन हुने भन्दै सरोकारवालले नदी दोहन रोक्न अनुरोध गरेका छन् । नदी दोहनकै कारण हिउँदमा लगाइएको नदी तटीय क्षेत्रका बाँध तथा जालीगाह्रो हरेक वर्ष बगाएको स्थानीयको गुनासो छ ।
पर्यावरण संरक्षण गर्नु पर्यटन व्यवसायी मात्र नभई आम नागरिकको कर्तव्य भए पनि संरक्षणमा पर्यटन व्यवसायीमात्र अगाडि देखिएका छन् । अवैध उत्खनन् रोक्न प्रहरी प्रशासन लागे पनि स्थानीय सरकारले भने खासै चासो राखेको पाईंदैन । दहत्तर बहत्तर ठेक्का स्थानीय सरकारले लगाउन सक्ने व्यवस्था भएपछि कतिपय स्थानीय सरकारको मुख्य आम्दानीको स्रोत नदीजन्य सामाग्री भएको छ । नदीजन्य सामाग्री विना विकासका काम ठप्प हुने संज्ञा दिँदै स्थानीय सरकारले अवैध उत्खनन्लाई समेत प्रशय दिएको पर्यटन व्यवसायीहरुको आरोप छ ।
दुई दशक वढी पर्यटन व्यवसायमा खर्चिएका नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले पर्यावरण संरक्षणमा कुनै खर्च नरहेकाले यसलाई नबिगारी उपयोग गर्नुपर्ने बताउनुहुन्छ । ‘नेपाल यति सुन्दर छ कि यसलाई नबिगारे पुग्छ’, आले भन्नुहुन्छ, ‘सरकारको ध्यान करोडौंको हिल स्टेशन निर्माणमा छ तर नबिगारे मात्र पुग्ने नदी संरक्षणमा छैन ।’ आलेले सुकुटे ‘टुरिजम एरिया’ बनाउन विगतमा सुकुटेबाट तलमाथि पाँचसय मिटर नदी उत्खनन् र क्रसर व्यवसाय नचलाउने राजनीतिक सहमति कार्यान्वयन गराउन अनुरोध गर्नुभयो ।
नदीजन्य सामाग्री उत्खनन, प्रशोधन, भण्डारण कार्याविधि अनुरुप मात्रै उत्खनन गरेमात्र पनि पर्यटन व्यवसायमा असर नहुने अर्का व्यवसायी महेन्द्र थापा बताउनुहुन्छ । ‘नेपालकै मुख्य पर्यटकीय डिस्टिनेसनको रुपमा विकास भएको सुनकोशी करिडोरको अवस्था निकै बिजोग हुँदै गएको छ’, थापाले भन्नुभयो, ‘प्रति दिन एक करोडको कारोबार हुन्छ । राज्यले कर सङ्कलन गरेकै छ, तर हाम्रो पेशामा ध्यान दिएन ।’
अनधिकृत उत्खनन रोक्न नियमित अनुगमन गरिनुपर्ने, क्रसर व्यवसायलाई वैज्ञानिक स्थानान्तरण आजको आवश्यकता भएको सिन्धु पर्यटन ब्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठ बताउनुहुन्छ । ‘¥याफ्टिङ गराँउदा कतिपय ठाँउमा डुङ्गा बोक्नुपर्ने गरी नदीको धार परिवर्तन गराईएको छ’, श्रेष्ठले भन्नुभयो, पर्यावरण संरक्षण आम नागरिकको दायित्व हुनुपर्छ ।’ श्रेष्ठको प्रश्न छ, ‘पर्यावरण संरक्षण पर्यटन व्यवसायीको मात्र दायित्व हो ?’
‘क्रसर–पर्यटन मध्यमार्गी ढंगवाट जाऔँ’– क्रसर व्यवसायी विदुर पराजुलीकोे प्रस्ताव छ ।
विकास निर्माण र पर्यटन व्यवसाय दुबै उत्तिकै महत्वको देखिएकाले जिल्लामा आफ्नो छुट्टै कार्याविधि निर्माण गरी दुवै व्यवसायको संरक्षण आवश्यक देखिएको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको धारणा छ । ‘वर्षादमा आउने बालुवा समुद्रमा जाने हो, वर्षादको तीन महिना बालुवा संकलन गरौं अरु नौ महिना उत्खनन रोकाैं, ¥याफ्टिङ चलाऔँ’– क्षेत्रीको प्रस्ताव छ ।
नीति अनुरुप आ–आफ्नो ब्यवसाय सञ्चालन गरे खास समस्या नरहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ बताउनुहुन्छ । अनुगमनको मुख्य जिम्मेवारी रहेको जिल्ला समन्वय समिति पटक पटक अवैध उत्खननको विषयमा विवादित हुँदै आएको छ ।