logo
२०८१ जेष्ठ २ बुधवार



सम्पदा संरक्षण ललितपुरको प्राथमिकता

खुला |


सम्पदा संरक्षण ललितपुरको प्राथमिकता


नगेन्द्र सापकोटा

ललितपुर, साउन २६ गते । ललितपुर महानगरपालिकाले प्राथमिकतासाथ सम्पदा संरक्षण र मर्मत गरिरहेको छ । नियमित मर्मत गर्नुपर्ने सम्पदा र भूकम्पले भत्किएका मठमन्दिर, विहार, बहाल, सत्तल, पाटी, पोखरीमध्ये धेरैजसो निर्माण सम्पन्न भइसकेका छन् । केही सम्पदा निर्माणाधीन अवस्थामा रहेको ललितपुर महानगरपालिकाले जनाएको छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो, “निर्माण भएका सबै सम्पदा पुरातात्त्विक शैलीमै पुनर्निर्माण गरिएका छन् । ” उहाँले चार वर्षअगाडि आएका व्यक्ति अहिले पुनः पाटन आउँदा सम्पदा पुनर्निर्माणसम्बन्धी कार्य देखेर छक्क पर्ने दाबी गर्नुभयो ।
ललितपुर महानगरपालिका–७ मा अमृतवर्ण महाविहार जीर्णोद्धार सम्पन्न, वडा नम्बर २० को पूर्णचण्डी पाटी विहार, सतफल्चा पाटी जीर्णोद्धार, वडा नम्बर ६ को नारायण मन्दिर, वडा नम्बर २१ को कटुसा पुनर्निर्माण गर्ने कार्य सम्पन्न भएको छ । पाटनको देगु तलेजु, भीमकाय भीमसेन मन्दिर, बुङ्मतीको रातो मच्छिन्द्रनाथको शिखर शैलीको मन्दिर पुनर्निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै, पिम्वाल जगमदु पोखरी, पाटी पुनर्निर्माण, सौगल महादेव मन्दिर, यशोधरा महाविहार करुणामय मन्दिर, पुल्चोक ढुङ्गेधारा मर्मत, जगनाथ मन्दिर, सिकुचा फल्चा, अशोक चैत्य मर्मत, पुशपति मन्दिर जीर्णोद्धार, सैथु गणेश मन्दिर, हरिशङ्कर मन्दिर, तापाहिटी पाटी, चोछे लाछि पाटी, छ्याबहाल पाटी पुनर्निर्माण गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
महानगर प्रमुख महर्जनका अनुसार महानगरपालिकाले करिब पाँच दर्जनभन्दा बढी मन्दिर सम्पदा पुनर्निर्माण गरेको छ । कतिपय सम्पदा पुनर्निर्माण गर्ने क्रममा रहेका छन् । उहाँले भन्नुभयो, “अहिले ललितपुर महानगर क्षेत्रमा सम्पदाले नयाँ स्वरूप पाएको छ । यसले ललितपुरको मात्र नभई, समग्र नेपालकै प्रतिष्ठालाई उचाइमा पु-याएको छ । ” महानगर क्षेत्रमा अधिकांश सम्पदा मल्लकाल र लिच्छविकालका निर्माण भएकाले अहिले सबै सम्पदा सोही कालकै रूपमा पुनर्निर्माण भएका छन् ।

अमूर्त सम्पदा संरक्षण
ललितपुर महानगरपालिकाले मूर्त सम्पदा पुनर्निर्माणसँगै अमूर्त सम्पदा र संस्कृतिको पनि संरक्षण गर्दै आएको छ । अमूूर्त सम्पदाअन्तर्गत बाजागाजा, संस्कृति, परम्परा, जात्रा र पूजापाठलाई निरन्तरता दिएको छ ।
महानगरपालिकाले कृष्ण जन्माष्टमीका लागि व्यवस्थापन बजेटको व्यवस्था, नागपञ्चमी मेला, अष्टमातृका नाच, कार्तिक नाच, नेपाल संवत् मनाउने कार्यक्रम, नेपाल भाषा संरक्षण, हराएको मूर्तिको खोजी, मच्छिन्द्रनाथको जात्रालगायत सम्पदा व्यवस्थापन गर्ने कार्यलाई आवश्यक बजेट व्यवस्था गरेको छ । महेश्वर मन्दिरको नित्य पूजा तथा खट जात्रा दरबार क्षेत्रभित्र महालक्ष्मी र भैरव मन्दिरमा नित्य पूजा सञ्चालन गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिएको महानगर प्रमुख महर्जनले बताउनुभयो ।

‘एक्सन टिम’ परिचालन
ललितपुर महानगरपालिकाले महानगरको काम व्यवस्थित र मर्यादित गर्ने उद्देश्यले ‘एक्सन टिम’ निर्माण गरी परिचालन गरेको छ ।
महानगरपालिकाका कामलाई व्यवस्थित सहर निर्माण गर्न सहयोग गर्नेगरी ‘एक्सन टिम’ निर्माण गरिएको जनाइएको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेथूूको नेतृत्वमा १५ जना नगर प्रहरीको ‘एक्सन टिम’ निर्माण गरिएको हो । एक्सन टिमले महानगरपालिकाभित्र देखिएका समस्या समाधान गर्न सहजीकरण गर्ने, सम्पदा क्षेत्र संरक्षण गर्ने, विपत्मा परेका व्यक्तिलाई उद्धार तथा सहयोग गर्ने, महानगरपालिकाको विकासमा अवरोध गर्ने व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याउनेलगायका कार्य एक्सन टिमले काम गर्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?