logo
२०८१ बैशाख २२ शनिवार



डुङ्गा पल्टिदा बेपत्ता भएकामध्ये एक महिलाको शव फेला

खुला |
प्रदेश |


डुङ्गा पल्टिदा बेपत्ता भएकामध्ये एक महिलाको शव फेला
सांकेतिक तस्वीर


अविनाश चौधरी
धनगढी, साउन २६ गते । कर्णाली नदीमा डुङ्गा पल्टिदा बेपत्ता भएकामध्ये एक जनाको शव एक हप्तापछि फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–३ राँगा मलेखाकी २० वर्षीया उर्मिला सलामी मगरको शव फेला परेको हो । घटनास्थलभन्दा धेरै टाढा लम्की चुहानगरपालिका–३ स्थित कर्णाली नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नदीको बीच भागमा शव फसेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरी टोलीले शव निकालेर पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पठाएको थियो । मुख हेरेर चिन्न नसक्ने भइसकेको शवको पहिचान गरगहनाको आधारमा गरिएको छ ।

कानमा लगाएको सुनको जस्तो देखिने रिङ, बाँया हातको औंलामा भएको चाँदीको औठीको आधारमा मृतकका श्रीमान करनले शव सनाखत गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
पोष्टमार्टम पश्चात अन्तिम संस्कारका लागि मृतकका ससुरा नवलसिंह सलामी मगरले शव बुझेको प्रहरीले जानकारी दिएको छ । साउन १७ गते राँगा मलेखाबाट काठको डुङ्गामा कर्णाली नदी तर्ने क्रममा घटना भएको थियो ।

डुङ्गामा सवार १० जनामध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । तीन जना बेपत्ता भएका थिए भने छ जना सकुशल थिए । डुङ्गा पल्टेर घटनास्थलमै राँगा मलेखाकी २२ वर्षीया धनसरा सलामी मगरको मगरको मृत्यु भएको थियो । धनसराको २४ दिने छोरा कर्ण भने सकुशल छन् ।
दुर्घटनामा उर्मिला सलामी मगर, उर्मिलाकी १० दिनको छोरी प्राप्ती र २० वर्षीया गर्भवती पार्वती थापा बेपत्ता भएका थिए । प्राप्ती र पार्वतीको अवस्था अझै अज्ञात रहेको छ । सुर्खेतस्थित चौकुने गाउँपालिका–४ बिजौरा बजारमा रहेको स्वास्थ्य चौकी खोप लगाउन जाने क्रममा राँगा मलेखाका महिला, बालबालिका चढेको डुङ्गा दुर्घटना भएको थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?