logo
२०८१ बैशाख २१ शुक्रवार



झापामा बाढीले १८ सीमा स्तम्भमा क्षति, ३५ उच्च जोखिममा

खुला |
प्रदेश |


झापामा बाढीले १८ सीमा स्तम्भमा क्षति, ३५ उच्च जोखिममा


लीलाराज झापाली
बिर्तामोड, साउन २७ गते । सोमवार साँझ मेची नदीले ११२ नम्बरको मुख्य जङ्गे पिल्लर बगाएसँगै झापामा १८ वटा सिमा पिल्लरमा क्षति पुगेको छ । गत वर्ष मझौला र साना गरी १७ वटा र यस वर्ष एउटा मुख्य पिलरमा नदी कटानबाट क्षति पुगेको सशस्त्र प्रहरीका एसपी रमेशकुमार पाण्डेले बताउँनुभयो ।
झापामा १४४ किलोमिटर खुला सीमाक्षेत्रमा ८२ देखि १५२ नम्बरसम्मको सीमा पिलर छन् । अधिकांश सीमा पिलर मेची र बिरिङ नदी आसपासमा छन् । गत वर्ष मात्रै भद्रपुर, कचनकवल, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका क्षेत्रका सीमा पिलरमा क्षति पुगेको थियो ।
झापामा मुख्य ७० सहित मझौला र साना गरी कुल ९८८ वटा सीमा पिल्लर छन् । त्यीमध्ये १५० वटा पिलर नदीको आसपासमा छन । खोलामा रहेका मध्ये अझै पनि ३५ वटा पिलर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । खोला नदी आसपासमा रहेका सबै सीमास्तम्भहरु समेत जोखिममा रहेको प्रहरीको भनाइ छ । कोरोना कहरकै कारण यसवर्ष पनि नदी डुबानमा परेका सीमास्तम्भहरुको अवस्थाको बारेमा यसबर्ष अनुगमन हुन नपाएको प्रहरीको भनाइ छ ।
बर्खा सकिएपछि मात्र ती पिलरहरूको अवस्था बुझ्न सकिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो । सीमाको पिलर हेर्ने जिम्मा सरकारले नापी विभागका उपसचिव शिव लम्साललाई दिएको बताइएको छ । ‘अघिल्लो वर्ष क्षति भएका पिलरको विवरण प्रशासन कार्यालयले पठाइसकेको प्रजिअ तिम्सिनाले बताउँनुभयो ।

यस वर्षको भने बर्खा सकिएपछि पठाउने तयारी रहेको तिम्सिनाले बताउँनुभयो । त्यसपछि दुवै देशका नापी टोली आएर सीमा पिलरको स्थलगत निरीक्षण गरिने समेत तिम्सिनाको भनाइ छ । दुवै देशका सीमा विज्ञ बसेर जिल्लामा कति वटा पिलर बनाउने हो, कति वटा मर्मत सम्भार गर्ने हो, त्यसको तथ्याङ्क सङ्कलन गरिने र सोही अनुसार सीमा मर्मत सम्भार गरिने तिम्सिनाले बताउँनुभयो । कोराना कहरका कारण सीमा पिल्लरको काममा ढिलाइ भए पनि आगामी कात्तिकदेखि पिलरको मर्मत सम्भारको काम शुरु भइसक्ने प्रजिअको भनाइ छ ।
यसै क्रममा नेपाल भारत सीमाको झापा कचनकवल ५ पाठामारीको ११२ नम्बर जङ्गे पिलर मेची नदीले सोमवार साढे ६ बजे बगाएको थियो । सीमा क्षेत्रमा रहेका गाउँबस्ती र सीमा पिल्लरको सुरक्षाका लागि सरकारले नदी तटबन्धमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?