logo
२०८१ मंसिर ९ आईतवार



हात्तीलाई आहारा र संरक्षणको आवश्यकता

खुला |
पर्यटन |


हात्तीलाई आहारा र संरक्षणको आवश्यकता
हात्ती दिवसमा सौराहामा लाइन लागेका हात्ती । तस्बिर– शालिग्राम नेपाल । चितवन



शालिग्राम नेपाल

चितवन, साउन २८ गते । हात्तीलाई आहारा र संरक्षणको खाँचो रहेको संरक्षणकर्मीहरुले जोड दिएका छन् । १० औं अन्तराष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको सौराहामा भोज खुवाउँदै संरक्षणकर्मीले हात्ती संरक्षणमा जोड दिएको हो । हात्ती विना चितवनको पर्यटन क्षेत्र कल्पना पनि गर्न नसकिने भन्दै यसको संरक्षणको लागि सबैको साथ आवश्यक रहेको भनाइ छ ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्तीकै कारण चितवन निकुञ्ज विश्वमा प्रख्यात हुनुका साथै आम्दानीको श्रोत समेत रहेको बताउनुभयो । वन्यजन्तु अवलोकनकै लागि यहाँ पर्यटकहरु आउने गरेकाले हात्ती विना निकुञ्ज र पर्यटन कल्पना गर्न सकिँदैन । पर्यटन व्यवसाय समेत धरासायी भएको अवस्थामा हात्ती समेत पलायन हुनु निकुञ्जका लागि गम्भीर असर गर्ने अधिकृत बरालले बताउनुभयो ।
हात्ती संरक्षणमा सरकारी तहबाट मात्रै नभइ सबै नागरिकको साथ आवश्यक हुने उहाँले जोड दिनुभयो । पर्यटन व्यवसायको एक महत्वपूर्ण पाटोको रुपमा हात्ती सफारीलाई लिइन्छ । हात्ती सफारीकै कारण पनि चितवन विश्वमा चिनिएको छ । पर्यटन व्यवसायको एक अंगको रुपमा लिईने हात्तीका बारे चर्चा गरिएको छ ।
पर्यटन व्यवसायी रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले हात्ती विना सौराहाको कल्पना गर्न नसकिने बताउनुभयो । पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका छ, यसको संरक्षण गर्नुपर्छ । डलरको खेती गर्नेहरुले हात्ती सफारीको विरोध गर्ने गरेको भन्दै उहाँले हात्तीमा भएको लगानी र यसले पर्यटन क्षेत्रमा पारेको सकारात्मक प्रभावका कारण बुझ्नु पर्ने आँैल्याउनुभयो ।
जनप्रतिनिधि राजन भट्टले कोरोनाका कारण पर्यटन व्यवसाय थलिँदा यहाँका हात्तीहरु भारतमा विक्री भएको बताउनुभयो । सौराहामा होटलका कर्मचारी, नेचर गाईड, माउतेलगायत प्रायः सबैले कोरोना विरुद्धको खोप लगाईसकेको भन्दै भट्टले सुरक्षित रहेको सौराहा घुम्न आउन आग्रह गर्नुभयो ।
युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्ती दुई दशकदेखि पर्यटन क्षेत्रमा प्रयोग हुँदै आएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो । कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार गुरुङले हात्ती सफारी, जीप सफारी वनको मुख्य आम्दानीको श्रोत भएकाले पर्यटकीय गतिविधिलाई बढावा दिनुपर्ने बताउनुभयो । युनाईटेड हात्ती संचालन सहकारी संस्थाले बिहीबार सौराहाको कुमरोज मध्यवर्ती सामुदायिक वनमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा हात्तीलाई मन पर्ने परिकारहरु खुवाइएको थियो ।
कोरोना संक्रमणपछि पर्यटन क्षेत्र ठप्प हुँदा सौराहाका व्यवसायीहरुले हात्ती विक्री गर्ने क्रम जारी छ । निजी क्षेत्रका ६५ वटा हात्ती रहेको यहाँ अहिले ३३ वटा मात्र हात्ती छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?