logo
२०८१ बैशाख १३ बिहीवार



गोखापत्रलाई प्रदेश सरकारले सघाउने

खुला |


गोखापत्रलाई प्रदेश सरकारले सघाउने




लक्ष्मी चौधरी
जनकपुरधाम, भदौ १ गते । प्रदेश २ को आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले गोरखापत्र सबैभन्दा जेठो र विश्वासिलो पत्रिका भएकाले यसको प्रभावकारिता वृद्धिका लागि प्राधिकरणले सघाउने बताउनुभएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित गोरखापत्र संस्थानको प्रादेशिक कार्यालयको अवलोकन भ्रमणक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
भाषा र शैलीका दृष्टिले गोरखापत्रको गरिमा मानक रहेको उल्लेख गर्दै अध्यक्ष यादवले गोरखापत्रका माध्यमले देशमा विद्यमान तीनै तहका सरकारहरूले गर्ने सकारात्मक कामका बारेमा जनतालाई सूचित गर्नुपर्ने बताउँदै अध्यक्ष यादवले गोखापत्रलाई मजबुत पार्न प्रदेश सरकारको भूमिका स्थापित गर्न प्राधिकरणले ठोस पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गोरखापत्रको प्रादेशिक कार्यालय र प्रादेशिक सञ्जाललाई सुदृढ, आत्मनिर्भर र साधनस्रोत सम्पन्न बनाउन गोरखापत्रकै योजनाअनुरूप प्राधिकरणको अगुवाइमा प्रदेश २ सरकारले सहयोग गर्नेछ ।’
प्राधिकरण अध्यक्ष यादवले संघीयता, समानुपातिक र समावेशीलगायत राजनीतिक र संवैधानिक उपलब्धिको जननी प्रदेश २ नै रहेकाले यस प्रदेशको असल र सही तस्बिर उतार्न पनि गोरखापत्रकर्मीहरूसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नकारात्मक भनिने पक्षलाई उपेक्षा नगर्नुस् । 
अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा प्रदेश २ को मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले गोरखापत्र सरकारी स्वामित्वको अखबार भए पनि यसका समाचारमा सर्वसाधारणको अनुहार र स्वर दुवै देखिने बताउनुभयो । ‘गोरखापत्रले पत्रकारिताको अवधारणा अनुसार नेपालको सञ्चारफाँटमा आफ्नो प्रभावशाली उपस्थिति जनाउँदै आएको छ । यस अखबारबाट सिक्नुपर्ने धेरै कुरा छन्,’ अध्यक्ष भट्टराईले भन्नुभयो, ‘गाउँघरमा अझैँ पत्रिका भनेको गोरखापत्र नै हो भन्ने बुझाइबाट पनि गोरखापत्रको उचाई मापन गर्न सकिन्छ ।’
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झाले गोरखापत्रमा समेटिने सामग्री र तिनलाई प्रस्तुत गर्ने शैली अझँै पनि पत्रकारमात्र नभएर अरूहरूका लागि पनि विकल्परहित सन्दर्भसामग्री बन्ने गरेको बताउनुभयो । उहाँले गोखापत्रको यसै विशिष्टताका कारण प्रदेश सरकारलगायतका राज्यका विभिन्न निकायले गोरखापत्रसँग साझेदारी गरेर नेपाली पत्रकारिता विकासमा योगदान पु¥याउनुपर्ने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकारहरू वैद्यनाथ झा र अनिलकुमार कर्ण, प्रदेश मिडिया काउन्सिल सदस्य अर्जुन मण्डल, गोरखापत्रको प्रदेश २ कार्यालयका प्रमुख प्रेमप्रसाद पराजुली, गोरखापत्रकर्मीहरू लक्ष्मी चौधरी र विजय साहलगायत सहभागी हुनुहुन्थ्यो ।
सोही कार्यक्रममा गोरखापत्रको प्रदेश २ संयोजकमा नियुक्त हुनुभएका धिरेन्द्र साहलाई स्वागत तथा सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?