logo
२०८१ बैशाख २२ शनिवार

  कोरानाको मारमा पंक्षी  



मनकारीले राख्न थाले शहरिया चराका लागि आहार घर

खुला |


मनकारीले राख्न थाले शहरिया चराका लागि आहार घर


काठमाडौँ, भदौ २ गते । गगनचुम्बी महलै महल देखिने कङ्क्रिटको शहरभित्र मानिस मात्र बस्दैनन् । शहरभित्रको बचेखुचेको हरियाली तथा घरआँगन विभिन्न प्रजातिका जीवजन्तुको आश्रयस्थल बनिरहेको हुन्छ । त्यसैले शहर बजार मानव जातिको मात्र नभई जीवजन्तु सम्पूर्ण चराचरको पनि वासस्थान हो ।
विगत डेढ वर्षदेखि कोरोनाको प्रभावले सम्पूर्ण मानव जनजीवन अस्तव्यस्त भइरहेका बेला शहरी वातावरणमा बस्ने चराचुरुङ्गीको दैनिकीलाई पनि प्रभावित पारेको छ । विशेष गरी कोरोनाले चराचुरुङ्गीको आहारामा समस्या पर्न थालेको छ ।
झट्ट हेर्दा शहरबजारमा खासै चराचुरुङ्गीहरु छैनन् कि भन्ने लागे पनि दर्जनौँ प्रजातिका पंक्षीको बास शहरबजारमा नै हुने गरेको छ । समाजमा महामारी, भोकमरी, रोगव्याधी फैलिँदा त्यसको प्रत्यक्ष असर ती पंक्षीमा पर्ने गरेको हुन्छ ।
यो पटकको कोरोना कहरले मानव समाजमा मात्र उथलपुथल ल्याएन, शहरी वातावरणमा आश्रित जीवजन्तु, पंक्षीलाई समेत असर पार्यो । आहार नपाएर कतिपय पंक्षी सडकमा मरेको देखिन थालेपछि नेपाल पंक्षी संरक्षण सङ्घले शहरिया पंक्षीको आहारको व्यवस्थापनको काम सुरु गरेको छ ।
सङ्घका सञ्चार अधिकृत निरज दाहालका अनुसार सानिमा बैँकसँगको सहकार्यमा काठमाडौँ उपत्यकाका पंक्षीका लागि ‘चराको खाने घर’ अर्थात् ‘बर्डज फिडर’ नाम गरेको कार्यक्रम सुरुवात गरिएको छ ।
उहाँका अनुसार अहिले ५० वटा फिडर निर्माण गरिएका छन् । ती फिडरको माथिल्लो भागमा पंक्षीका लागि आहार दाना, फलफूल राखिन्छ र ती आहार फिडरको तल्लो भागको प्लेटमा झर्छ अनि चराचुरुङ्गीलाई खान सहज हुने गरी फिडर निर्माण गरिएका छन् ।
ती फिडरलाई राजदूतावास, ठूला तारे होटल, पार्क, रिसोर्ट, विद्यालय, क्याम्पसका हाताभित्र राखिनेछ । हाल गोदावरी पार्क भिलेजको हाता, कोटेश्वरको पार्कभित्र, डब्लुडब्लुएफ नेपालको कार्यालय हाताभित्र र कलाकार मदनकृष्ण तथा हरिवंश आचार्यले आफ्ना आँगनमा ती फिडर राखिसकेका छन् ।
जुन ठाउँमा फिडर राखिएका छन्, ती व्यक्ति वा संस्थाले चराचुरुङ्गीलाई चाहिने आहारको व्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको जानकारी सञ्चार अधिकृत दाहालले दिनुभयो ।
उपत्यकाका घना बस्तीभित्र भँगेरा, बुलबुल, परेवा, धोबिनी चरा, फिस्टे चरा, न्याउली, कुत्रुक्के, काग, परेवा लगायतका पंक्षी पाइने गरेका छन् । यी पंक्षीलाई बर्खामा भन्दा हिउँदमा आहारको समस्या पर्ने गरेको नेपाल पंक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले बताउनुभयो ।
बर्खाका बेला चराको आहार हरियो घाँसपात तथा रुखहरुमा किरा फट्याङ्ग्रा प्रशस्त मात्रामा हुने भएपनि हिउँदमा भने प्राकृतिक बासस्थानमा पनि चराचुरुङ्गीलाई आहारको समस्या हुने गरेको छ । यो अभियानले शहरिया चराचुरुङ्गीलाई हिउँदे याममा बढी सहयोग हुने देखिएको छ ।
पहिलो चरणमा ५० वटा फिडर राखिने भएका छन् । सहयोग गर्ने व्यक्ति तथा दाता धेरै देखिएमा दोस्रो चरणमा थप स्थानमा फिडर राख्ने योजना पंक्षी संरक्षण सङ्घले बनाएको छ ।
आहारको प्रकृति अनुसार शहरिया चराचुरुङ्गीहरु फिडर वरपर आउने हुन्छन् । कतिपय चराहरुले फलफूल मात्र खान्छन् भने कतिपयले चामल, गहुँ, भटमासलगायतका अन्न तथा दाना मात्र खाने खालका हुन्छन् । मौसम अनुसार कतिपय चरा शहर पस्ने र कहिलेकाहीँ उपत्यका वरपरका डाँडाकाँडा तथा वनजङ्गलमा घुम्ने पनि गरेका हुन्छन् ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?