logo
२०८१ बैशाख ७ शुक्रवार



बंगुरपालनमा मासिक एकलाख आम्दानी

खुला |
प्रदेश |


बंगुरपालनमा मासिक एकलाख आम्दानी
बंगुर फर्ममा काम गर्दै बेनी मंगलाघाटका रणबहादुर विश्वकर्मा । तस्विर – ठाकुरप्रसाद आचार्य



ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ ३ गते । बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । विहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुवाउने र खोर सफा आफैँ गर्नुहुन्छ । यस्तै दिनचार्यमा नै उहाँको ८ वर्ष बितिसकेको छ ।
‘विदेशमा गएर दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर बंगुरपालन गरेका छौं, सबैजना खुसी छौं,’ विश्वकर्माले भन्नुभयो ।
बंगुरपालनमा राम्रो सम्भावना देखेर वैदेशिक रोजगार त्यागेर बंगुरपालन व्यवसाय सुरु गरेको बेनी नगरपालिका ७ मंगलाघाटका युवा विश्वकर्माले बताउनुभयो । विदेशमा १२ वर्ष दुःख गरियो विश्वकर्माले भन्नुभयो ‘विदेशमा गर्ने श्रम स्वदेशमै गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ ।’ विश्वकर्माले विगत ८ वर्षदेखि व्यवसायिक रुपमा बंगुरपालन व्यवसाय गर्दै आउनुभएको छ । बंगुरपालन व्यवसायबाट मासिक एकलाख रुपियाँ सम्म आम्दानी गर्न सकिने उहाँले अनुभव सुनाउनुभयो ।
दुईलाख पचास हजारबाट सुरु गरेको बंगुरपालन व्यवसाय अहिले करिब पचासलाखसम्म लगानी पुगेको छ । खोर निर्माण गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द र बंगुरजोन कार्यक्रमले अनुदान उपलब्ध गराएपछि परम्परागत खोरलाई आधुनिकीकरण गरिएको उहाँले बताउनुभयो । भविष्यमा फर्मलाई विस्तार गरेर लगानी बढाउने योजना रहेको विश्वकर्माले बताउनुभयो ।
उहाँको फर्ममा माउ बंगुर १३, भाले बंगुर एक, मासुका लागि तयारी अवस्थामा रहेका १२ र पाठापाठी २० वटा छन् । दानापानी राम्रो खुवाउन सकियो भने ८ देखि १२ महिनामा एकसय केजी सम्मको बंगुर हुने उहाँले बताउनुभयो । दानाको व्यवस्थापन गर्न सकेमा पैसा कमाउन बंगुरपालन व्यवसाय राम्रो हुने उहाँले अनुभव सुनाउनुभयो । बेनी बजारमा रहेका होटल र घरबाट बढी भएको खाना, तरकारी, दाललगायतलाई संकलन गरेर दानका रुपमा प्रयोग गरिने उहाँले बताउनुभयो । यसका साथै घरमै पनि दाना बनाउने उहाँले बताउनुभयो ।
महिनामा १० वटासम्म बंगुर विक्री गर्ने उहाँको भनाइ छ । बंगुरको मासु पसलमा प्रतिकेजी तीनसय पचास रुपियाँमा विक्री हुने उहाँले बताउनुभयो । बंगुरको मासु बजारमा पु¥याउन सकिएको छैन । माग अनुसार उत्पादन गर्न नसकिएको विश्वकर्माले बताउनुभयो ।
१२ कक्षामा पढ्ने छोरा साजन विकले फुर्सदको समयमा बुवालाई सघाउनुहुन्छ । मैले विहान बेलुका खोर सरसफाई र दानाको व्यवस्थापन गर्दछु, साजनले भन्नुभयो ‘बुवाले गरेको व्यवसायप्रति मलाई गर्व लाग्छ । काम गरेर सानो भइदैन । फर्ममा काम गर्दा खुसी मिल्छ ।’
जिल्लामा बंगुर जोन कार्यक्रम सुरु भएसँगै खोर निर्माण, मासुपसल सुधार र आवश्यक परामर्श दिन थालेपछि किसानहरु उत्साहित भएका छन् । आर्थिक वर्ष २०७६÷०७७ देखि कार्यान्वयनमा आएको बंगुर जोन कार्यक्रमले बंगुर पाल्ने किसानहरुलाई खोर निर्माणमा अनुदान उपलब्ध गराउन थालेको छ ।
गत आर्थिक वर्षमा मात्र ३६ लाख ५६ हजार ८ सय रुपियाँ बंगुरपालक किसानहरुलाई खोर निर्माण, दाना बनाउने मिल र खोरबाट निस्किएको फोहारलाई व्यवस्थापन गर्न गोवर ग्यास प्लान्ट निर्माणमा अनुदान उपलब्ध गराएको बंगुर जोनका पशु प्राविधिक बलबहादुर वलीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाभर ३५ वटा बंगुरका फर्म सूचिकृत भएका छन् । कार्यक्रम लागू भएपछि किसानहरु उत्साहित भएको र बंगुरपालन व्यवसायप्रति युवाको आकर्षण बढेको उहाँले बताउनुभयो । बजारको नजिक मंगलाघाट क्षेत्रमा मात्र ११ जना युवाले बंगुरपालन व्यवसाय गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?