logo
२०८१ बैशाख १८ मंगलवार



बागलुङमा पाँच दिन निषेधाज्ञा थप

खुला |
प्रदेश |


बागलुङमा पाँच दिन निषेधाज्ञा थप



नवीन शिशिर विक
बागलुङ, भदौ ४ गते । अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने गरी बागलुङमा पाँच दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले भदौ ५ गतेराति १२ बजदेखि १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बागलुङमा साउन २८ गतेदेखि कडा निषेधाज्ञा जारी छ ।
निषेधाज्ञाको समयमा तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, माछा मासु, पानी, ग्याँस लगायतका अत्यावश्यक सेवाका पसल स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान १० बजेसम्म र खाद्य सामग्री तथा पशुपंक्षीका दानाका पसल, ढुवानी आइतबार, बुधबार र शुक्रबार स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।
बैंक तथा वित्तीय संस्था (सहकारी संस्था, बीमा कम्पनी, मनि ट्रान्सफर समेत) सञ्चालन नगर्ने र अत्यावश्यक भएमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सेवा प्रदान गर्न सकिनेछ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट संचालन हुने पूर्वसंचालित परीक्षा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संचालन गर्ने निर्णय भएको गौतमले बताउनुभयो ।
गत वैशाखदेखि सुरु गरिएको निषेधाज्ञामा असार मध्यदेखि केही खुकुलो बनाइँदै लगिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि संक्रमितको दर ह्वात्तै बढेपछि कडा निषेधाज्ञा जारी गरिएको थियो ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागू गर्ने प्रशासकीय अधिकृत गौतमले बताउनुभयो । विगतमा निषेधाज्ञाको समयमा व्यवहारिक समस्यालाई ध्यानमा राखेर छुट दिँदा निषेधाज्ञाको मर्ममाथि नै प्रश्न उठेको हुँदा पछिल्लो निषेधाज्ञालाई नियमानुसार कार्यान्वयन गर्ने उहाँको भनाइ छ ।
बैठकले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने, हिँड्डुल नगर्न आग्रह गरेको छ । निषेधाज्ञाको पालना नगरे स्थानीय प्रशासन ऐन, २०२८ तथा अध्यादेश, २०७८ एवम् अन्य प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।

बैठकले एम्बुलेन्स, दमकल, शवबाहन, तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी वीऊविजन उपज, ग्याँस तथा पेट्रोलियम पदार्थ र निर्माण सामाग्री बोकेका सवारी साधानहरु, चिकित्सक तथा स्वास्थ्यकर्मी, ड्युटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारी साधन, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका साधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी साधन, प्रेस पास तथा परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
कोरोना–१९ विरुद्धको खोप अभियान सुरक्षा मापदण्डको कार्यान्वयन गरी संचालन हुनेछ । अत्यावश्यक बाहेकका सबै सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुनेछन् । जिल्लामा हाल ४९८ जना कोरोनाका विरामी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?