logo
२०८१ बैशाख १३ बिहीवार



भेरी अस्पतालमा बाँके र कैलालीका दुई संक्रमितको मृत्यु

खुला |
प्रदेश |


भेरी अस्पतालमा बाँके र कैलालीका दुई संक्रमितको मृत्यु



सिराज खान
नेपालगञ्ज, भदौ ५ गते । कोरोना भाइरस संक्रमणका कारण भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । उनिहरुको मृत्यु उपचारका क्रममा भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ । समितिका अनुसार गत केही समय संक्रमितको मृत्यु हुने क्रम कम भए पनि हाल आएर फेरि भेरी अस्पतालमा दिनानुदिन मृत्यु हुन थालेको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा गएराती घोडाघोडी नगरपालिका–१ कैलालीका ६९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–२ का २४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
ओलीका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएका कैलालीका पुरुषको स्वास्थ्यमा सुधार नआउँदा शुक्रवार राति साढे ८ बजे मृत्यु भएको हो ।
त्यस्तै, कोहलपुरका २४ वर्षीया महिलालाई साउन २० गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि साउन २३ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा शुक्रवार राति ९ बजे मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिनुभयो ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेका स्थानीयवासिन्दाको मृत्यु संख्या ३२६ पुगेको छ भने अन्य जिल्लाबाट उपचारका लागि बाँके आएकाको मृत्यु संख्या ३९१ पुगेको छ ।
यसअघि शुक्रबार विहान पनि कोभिड संक्रमणका कारण भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको थियो । शुक्रबार विहान सुर्खेत र कैलालीका दुई युवाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?