logo
२०८१ बैशाख १८ मंगलवार



स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या

खुला |
प्रदेश |


स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या
तनहुँ कारागारको भवन । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, भदौ ५ गते । स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ । उपचार गर्ने स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) झण्डै दुई वर्ष अघिदेखि नै कारागारमा छैनन् । कारागार जस्तो संवेदनशिल ठाउँमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।
स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई सामान्य उपचार गर्न समेत दमौली अस्पताल र अन्य निजी अस्पतालहरुमा लैजानु पर्ने बाध्यता रहेको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिनुभयो । स्वास्थ्य सहायक सक्षम घिमिरे २०७६ असोज २३ गते सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन भएको सुवेदी बताउनुहुन्छ । ‘‘पदपूर्तिको लागि ठाउँमा कारागार व्यवस्था विभागलाई पटक पटक ताकेता गरेको छु् तर सुनुवाई भएको छैन’’ जेलर सुवेदीले भन्नुभयो ।

कैदीबन्दीसँग भेटघाट बन्द
यसैबीच, कोरोना सङक्रमित सङ्ख्या बढ्दै गएकोले तनहुँ कारागारद्धारा कैदीबन्दीहरुलाई आफन्तसँगको भेटघाट बन्द गरिएको छ ।
बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । बाहिरबाट परिवार वा आफन्तजन आएर कैदीबन्दीलाई भेट्दा सङक्रमण सर्ने खतरा रहेकाले भेटघाटलाई बन्द गरिएको उहाँले बताउनुभयो । कारागारमा २८३ जना कैदीबन्दी रहेको अधिकांश कैदीबन्दीले कोरोना विरुद्धको खोप लगाइसकेको कारागारले जनाएको छ । कारागारका अनुसार ८८ जना मात्रै खोप लगाउन बाँकी रहेको छ ।
तनहुँ अदालतले पुर्पक्षमा पठाएका नयाँ बन्दीहरुलाई शुरुमा १० दिनसम्म आइसोलेसनमा राखिने र कुनै लक्षण नदेखिएकाहरुलाई अरुसँगै राख्ने गरिएको छ । महिला बन्दीको नाममा निर्माण गरिएको भवन समेत अहिले पुरुष बन्दीहरुको लागि प्रयोग हुँदै आएको छ । तनहुँ कारागारले तत्कालै महिलालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिँदा पोखरा वा लमजुङ पठाउनुपर्ने अवस्था रहेको छ ।

आइसोलन कक्ष निर्माण
कारोना भाइरसको सङ्क्रण फैलन नदिन तनहुँ कारागारमा १५ शैयाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । यस्तै, कारागार प्रशासनले नयाँ भवनको दुई कोठालाई क्वारेन्टिन निर्माण गरेको छ । दैनिक नयाँ कैदीबन्दी थपिदै जान थालेपछि सुरक्षालाई मध्यनजर गर्दै क्वारेन्टिन निर्माण जेलर ऋषीराम सुवेदीले बताउनु भयो । नयाँ आएका कैदीबन्दीलाई १४ दिन राखेर मात्रै प्रवेश गराउन थालिएको कारारागले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?