logo
२०८१ बैशाख १६ आईतवार

  चुनाैती बन्दै सामुदायिक कुकुर व्यवस्थापन  



प्रत्येक वर्ष कुकुरकाे टाेकाइबाट १० देखि १५ काे मृत्यु

खुला |
प्रदेश |


प्रत्येक वर्ष कुकुरकाे टाेकाइबाट १० देखि १५ काे मृत्यु


दीपा चाैधरी

काठमाडौँ, भदौ ५ गते । ललितपुर महानगरपालिकाले 'सामुदायिक' कुकुरलाई व्यवस्थापन गर्न ५० दिने अभियान चलाएको छ । शनिबार अभियानको सातौं दिन हो । यो अभियान १ देखि २९ वटै वडामा लागू गरिएको छ ।

सातौं दिनमा सात हजार कुकुरलाई बन्ध्याकरण गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गोरखापत्र अनलाइनलाई बताउनुभयो । कुकुरको समस्यालाई गम्भीर रुपमा आफूले लिए पनि समाधानका लागि कानुनी आधार स्पष्ट नभएकाले पशु कल्याण ऐन बनाउन नसकिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कुकुरको बन्ध्याकरण गरिदिए त्यस्तो कुकुरको संख्या बढ्ने छैन । उहाँले भन्नुभयो,“सबै कुकुरलाई गर्न नसकिए पनि हामीले देखे भेटे जति कुकुरको बन्ध्याकरण गरेका छौँ, यो काम शुरु गरेको आज सातौं दिन हो, ५० दिन जति लाग्छ तर अन्तबाट कुकुरहरु बसाइँसराई गरेर आउने हुनाले पुरै नियन्त्रण हुन्छ भन्ने छैन, केही व्यवस्थापन गर्ने भनेर अभियान चलाएका हौँ ।’’

काठमाडौँ उपत्यकामा कुकुरको संख्या बढेर दैनिक केही न केही समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“घरपालुवा जनावरदेखि लिएर अन्य बाटोमा छाडिएका पशुचौपायाको समस्या समाधान गर्न हामीले कानुन तर्जुमा गर्दैछौँ तर मूल ऐनको अभावमा हामीले समस्या समाधानलाई गति दिन सकेका छैनौं ।’’ यकिन तथ्यांक नभए पनि उपत्यकामा ३५ देखि ४० हजारसम्म बेवारिसे कुकुर रहेको उहाँको अनुमान छ ।

अर्कोतिर, बेवारिसे कुकुर भन्नुभन्दा कुकुरलाई सभ्य भाषामा समुदायक कुकुर भन्न आग्रह गर्नुहुँदै राष्ट्रिय पशुपंक्षी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यलयका प्रमुख डा.लोकनाथ पौड्यालले कुकुरको संख्या बढ्नुमा सरकारी निकायसँग दीर्घकालीन योजना नहुनु नै हो । यसको लागि सरकारी हो या अन्तराष्ट्रियस्तर कतैबाट पनि बजेट विनियोजन नभएकोमा उहाँले गुनासो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“ कोरोनाको समयमा मानिसलाई यति सास्ती भयो भने  यी छाडा पशुचौपायालाई कस्तो भयो होला, अनुमान गर्न सकिन्छ त्यसको लागि केही बजेट भए काम गर्न सजिलो हुने थियो ।”

उहाँले समुदायसँग मिलेर छाडा पशुचौपायाका लागि १८ वटा संस्थाले काम गरिरहेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाले तीन वर्षभित्र बेवारिसे कुकुरको संख्यामा ८० प्रतिशतले कमी ल्याउने बताएको थियो । तर कुकुरको विगविगीले वर्षाको पानीमा समेत समस्या उत्पन्न हुन थालेको सार्वसाधारणले गुनासो गरेका छन् ।

यता, कुकुरको संख्या बढेर त्यसको टोकाईबाट घाइते हुनेको संख्या पनि दैनिक रूपमा थपिने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार सबै कुकुरको टोकाइबाट मृत्यु नभए पनि समयमै अस्पताल नपुगेका कारण मृत्यु हुने मानिसको संख्या बढ्ने गरेको छ ।

उहाँले भन्नुभयो,“लकडाउनभन्दा पहिलेको आँकडा हेर्ने हो भने लगभग एक सयदेखि १५० को हाराहारीमा कुकुरको टोकाइबाट पीडित बनेका बिरामी उपचार गर्न अस्पताल आइरहेका छन् । केही महिना अघिसम्म दैनिक ८० देखि १०० जनासम्म बिरामी आउने गरेको देखिन्छ तर जति धेरै मानिस बाहिर निस्क्यो त्यति नै कुकुरले टोक्ने हुन्छ ।” तर लकडाउनमा मानिसहरु घरमै बस्ने हुनाले कुकुरको टोकाइबाट हुने विरामीको संख्यामा कम देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार पछिल्लो एक वर्षमा मात्रै करिब २८ हजारले कुकुरको टोकाइबाट उत्पन्न समस्याको उपचार गराएका छन् । प्रत्येक वर्ष करिब १० देखि १५ जनाको रेबिज संक्रमित कुकुरको टोकाइका कारण मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?