logo
२०८१ बैशाख २३ आईतवार



सिन्धुलीमा यातायात सेवा कतै खुल्यो, कतै अझै अवरुद्ध

खुला |
प्रदेश |


सिन्धुलीमा यातायात सेवा कतै खुल्यो, कतै अझै अवरुद्ध



बाबुराम देवकोटा
सिन्धुलीमाढी, भदौ १२ गते । पहिरोका कारण तीन दिनदेखि यातायात सेवा अवरुद्ध बनेको मध्य पहाडी लोकमार्गको सिन्धुली जिल्ला अन्तर्गत पर्ने ६१ किलोमिटर लम्बाईको खुर्कोट–घुर्मि खण्डमा शनिबारसम्म यातायात सेवा सुचारु बन्न सकेको छैन ।
स्थानीयका अनुसार बिहीबारदेखि परेको अविरल वर्षाका कारण खुर्कोट–घुर्मि खण्डको गोलन्जोर गाउँपालिका अन्तर्गत हैबार, कालिआँप, कुखुरेटार, कुँडुले र सुम्नामबेसीमा माथिबाट पहिरो आई सडकमा थुप्रिएर यातायात सेवा अवरुद्ध बनेको थियो ।
उक्त खण्डमा अन्य पहिरो पन्छाई यातायातका साधान आवागमनका लागि खुलाइए पनि हैबार पहिरो पन्छाउन नसक्दा यातायात सेवा अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । उक्त कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणी नेपालले स्काभेटर लगाएर उक्त पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हैबारको अक्करमा एउटा डाँडो नै बगेर आई सडकमा थुप्रिएको छ । पहिरो पन्छाउन एउटा स्काभेटर पठाएका छौं । अकासबाट पानी नपरेर मौसमले साथ दिएमा शनिबार बेलुकासम्म यातायात सुचारु गर्न सकिन्छ की भन्ने आसमा छौं, नसके आइतबारसम्म यातायातका साधन खुलाउँछौं ।’
खुर्कोट–घुर्मि खण्डमा यातायात सेवा अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडांै हिँडेका सबारी साधन र राजधानीबाट ती जिल्लामा आएका सवारी साधन बीच बाटोमा नै रोकिएर अलपत्र परेका स्थानीयले बताएका छन् ।
पहिरोका कारण नै यातायात सेवा अवरुद्ध भएको बीपी राजमार्ग भने शुक्रबार बेलुकादेखि नै एकतर्फी यातायातका साधन सञ्चालन खुलाएर सुचारु गरिएको छ । ४० किलोमिटर लम्बाईको सदरमुकाम सिन्धुलीमाढीदेखि तीनपाटन गाँउपालिकाको केन्द्र चकमके सडकमा पनि तीन दिनदेखि यातायातका साधन सञ्चालन हुन सकेको छैन ।
तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापामगरले उक्त गाउँपालिका अन्तर्गत नक्कलेदेखि चकमकेसम्म करिब पाँच किलोमिटर सडक पहिरोको कारण बिग्रिएको र शनिबार बिहान गाँउपालिकाले जेसिबी पठाई पहिरो पन्छाएर यातायात खुलाउने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उक्त सडक अन्तर्गत नै कमलामाई नगरपालिका अन्तर्गत पर्ने पल्लो रामपुरको एकपाखेमा पहिरोले सडक नै बगाएको छ । एकपाखेमा पनि सडक निर्माण गरी यातायात सुचारु गर्न कमलामाई नगरपालिकाको मेयरसापसँग समन्वय गरी जेसिबी पठाउने काम भइसकेको छ ।’
बीपी राजमार्गसँग जोडिएको १० किलोमिटर लम्बाईको निर्माणाधिन सिन्धुलीगढी– सोलाभन्ज्याङ–नागि सडक पनि पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । उक्त सडकको ठाँउ–ठाँउमा पहिरो तथा ढुंगा खसेर सबारी साधान आवागमन रोकिएको स्थानीय बासिन्दाले जनाएका छन् । कालोपत्रे गर्न सडकको स्तरोन्नतीसहित करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको उक्त सडकको पहिरोले रिटेनिङ वाललगायत सडक नै पुरेको स्थानीय बासिन्दा खिलराज सिग्देलले जानकारी दिनुभयो ।
उहाँले उक्त सडकमा अहिले ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?