logo
२०८१ बैशाख २३ आईतवार



मेलम्ची र हेलम्बु बाढीपीडित थातथलो छाड्दै

खुला |
प्रदेश |


मेलम्ची र हेलम्बु बाढीपीडित थातथलो छाड्दै


चित्र मिजार
सिन्धुपाल्चोक, भदौ १२ गते । असार १ गतेदेखि निरन्तर बाढी आएर परिवारका सदस्य, घरखेतबारी सबै बगाएपछि मेलम्ची र हेलम्बुका बाढीपीडितहरु थातथलो छाडेर हिँड्न थालेका छन् । महिनौंदेखि त्रिपाल र टहरामा सास्ती खेपिरहेका बाढीपीडितहरु अहिले धमाधम मेलम्ची र हेलम्बु क्षेत्र छाडिरहेका छन् ।
हेलम्बु गाउँपालिकाका चालिसेगाउँ, किउल, तालामाराङ, चनौटेबजार, गणेशबगर, मेलम्ची नगरपालिकाका भट्टे, सिमखेत, मेलम्ची बजार, दुलाल गाउँका बाढीपीडित थातथलो छाडेर राजधानी, बनेपा र अन्यत्र स्थानमा जान थालेका छन् । हेलम्बुको भे्रमाथाङ पहाड खसेर बाढीमा रुपान्तरण भएर आएको बाढीले हेलम्बु, मेलम्ची, पाँचपोखरी गाउँपालिकाका एक हजार पाँच सय घर विस्थापित भएका थिए । उक्त संख्याका बाढीपीडितहरु अहिले थातथलो छाडेर हिँड्न थालेको हेलम्बुका एमाले नेता हस्त पण्डितले दुःखसो गर्नुभयो ।
बाढीले ३६६ घरपरिवार घरबारविहीन भएका थिए । बाढीबाट बचेका र उच्च जोखिममा रहेका घरपरिवार पनि थातथलो छोडेर हिँड्न थालेका छन् । यसअघि सात सय भन्दा बढी विस्थापित हरु बनेपा र राजधानी गएर बसिसकेका छन् । हेलम्बु गाउँपालिका चनौटेकी सुभद्रा रुपाखेतीले बाढीले घर जग्गाजमीन सबै बगाएपछि विरामी श्रीमान् लिएर राजधानी जानुभएको छ ।

उहाँ भन्नुहुन्छ–‘राजधानीमा जे काम पाइन्छ, त्यही गरेर खाने र कोठा लिएर बस्छौं’ । उहाँ जस्तै मेलम्ची बजारका बाढीपीडित श्यामकृष्ण श्रेष्ठले बाढीले घरखेत सबै बगाएपछि केही बाँकी नरहेका कारण राजधानी गई कोठा लिएर काम गरेर खाने बताउनु हुन्छ । उहाँहरु जस्ता दैनिक ५० भन्दा बढी बाढीबाट विस्थापित परिवार थातथलो छाडेर अन्यत्र बसाईंका लागि जाने गरेका छन् ।
थातथलो छाडेर हिँड्नेहरु सरकारले घर बनाइदिए फर्कने बताउछँन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले १५ सय विस्थापित मध्य सात सय बनेपा, ललितपुर, काठमाडौं र अन्य स्थानमा गएर बस्न थालेको जानकारी दिनुभयो । बाढीले परिवारका सदस्य, घरखेत, जग्गाजमीन गुमाएका विस्थापितहरु सरकारसँग पुनः स्थापनाको माग गरिरहेको बाढीपीडित तथा मेलम्चीका अगुवा सागरकुमार श्रेष्ठले बताउनुभयो । बाढीमा मेलम्ची, हेलम्बु लगायतका स्थानका गरि तीन सय घर बगाएको छ भने एक हजार भन्दा बढी घर विस्थापित भएका छन् । सो बाढीमा छ जनाको निधन भएको थियो । २० जना अझै बेपत्ता रहेका छन् ।
मेलम्ची बाढीपीडित थातथलो छाडेर हिँडेपछिका क्षतिग्रस्त घरहरु

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?