logo
२०८१ बैशाख २५ मंगलवार



शहरीकरणसँगै पूर्वमा अव्यवस्थित सवारी पार्किङ

खुला |


शहरीकरणसँगै पूर्वमा अव्यवस्थित सवारी पार्किङ



सचिन पोख्रेल
इटहरी, भदौ १९ गते । शहरीकरणको विस्तारसँगै पूर्वी नेपालको विभिन्न बजारमा देखिएको अव्यवस्थित सवारी पार्किङ जटिल समस्या बन्दै गएको छ । जथाभावी र अव्यवस्थित रुपमा गरिने सवारी पार्किङ स्थानीय ट्राफिक प्रहरीसँगै आम सर्वसाधारणका लागि टाउको दुखाइको विषय पनि बन्न पुगेको देखिन्छ ।
पूर्वी नेपालको धरान, इटहरी, विराटनगर, बिर्तामोड, दमक जस्ता सर्वसाधारणको अधिक जनघनत्व भएको ठाउँमा अनियन्त्रित र अव्यवस्थित पार्किङको समस्या बढ्दै गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङकले देखाउँछ । चालू आर्थिक वर्षको डेढ महिनामा इटहरीमा मात्रै अव्यवस्थित पार्किङ गर्ने २४९ वटा सवारी कार्बाहीमा परेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले कार्बाहीको क्रममा ती सवारीसाधनबाट ६८ हजार रुपियाँ राजश्व संकलन गरेको छ ।
शहरीकरणको क्रममा विकास र विस्तार हुँदै गएका प्रदेश १ का विभिन्न शहर बजारमा चालकहरुको असावधानी र लापरबाहीका कारण अव्यवस्थित पार्किङ गर्ने क्रम बढेको प्रवक्ता तिम्सिनाको भनाइ छ ।
व्यस्त व्यापारिक भवन, सरकारी तथा निजि कार्यालयको बाहिर, होटल तथा रेष्टुरेन्टलगायत बजार आसपासका ‘नो पार्किङ’ क्षेत्रमा जथाभावी पार्किङ गर्ने गरेको पाइएको छ । यसरी गरिने अव्यवस्थित पार्किङकै कारण सवारीसाधनको आवागमन र मानिसलाई आवातजावत गर्न समस्याका साथै यसले दुर्घटना पनि बढाएको प्रवक्ता तिम्सिनाले जानकारी दिनुभयो ।
विशेषगरी यसरी गरिने अव्यवस्थित पार्किङले अन्यलाई मात्रै नभएर स्वयम सवारीधनीलाई समेत हानी हुने गरेको प्रहरीको भनाइ छ । जथाभावि पार्किङ गर्दा सवारीसाधन चोरीका घटना बढेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
शहरबजार तथा राजमार्ग क्षेत्रमा जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारी साधनका साथै निषेधित क्षेत्रबाट यात्रु तथा सामान ‘पिक एण्ड ड्रप’ गर्ने सवारीसाधनलाई कार्बाही गर्ने क्रम बढाउको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?