logo
२०८१ बैशाख २४ सोमवार



डोल्पामा एमाले र स्वतन्त्रबाट ४१ जना एकिकृत समाजवादीमा सनाखत

प्रदेश |
खुला |


डोल्पामा एमाले र स्वतन्त्रबाट ४१ जना एकिकृत समाजवादीमा सनाखत
ब्यानर, झण्डासहितको जुलुस जिल्ला निर्वाचन कार्यालय डोल्पामा पुगेर ४१ जना जनप्रतिनिधिहरुले नेकपा (एकिकृत समाजवादी)मा रहेको भन्दै सनाखत गर्नुभयाे


विष्णुलाल बुढा
डोल्पा, भदौ २१ गते । नेकपा (एमाले)बाट फुटेर बनेको नेकपा (एकिकृत समाजवादी)मा डोल्पाका ४१ जना स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गरी आफूहरु उक्त पार्टीमा रहेको जनाएका छन् । सोमबार दिउँसो साढे २ बजेतिर ब्यानर, झण्डासहितको जुलुस जिल्ला निर्वाचन कार्यालय डोल्पामा पुगेर ४१ जना जनप्रतिनिधिहरुले नेकपा (एकिकृत समाजवादी)मा रहेको भन्दै सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
ठूलीभेरी नगरपालिकामा नेकपा(एमाले)बाट नेकपा(एकिकृत समाजवादी)मा जाने सबैभन्दा धेरै भएका छन् । यस स्थानीय तहमा एमालेलाई ठूलो धक्का लागेको छ । यस नगरपालिकामा नेकपा(एमाले)बाट एक जना नगरप्रमुख, पाँच जना वडा अध्यक्ष, २६ वडा सदस्यहरु गरी जम्मा ३२ जना जनप्रतिनिधिहरुले नेकपा (एकिकृत समाजवादी)मा रहेको भन्दै सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका निमित्त जिल्ला निर्वाचन अधिकारी सुमन राईले जानकारी दिनुभयो । यस नगरपालिकाबाट एक जना स्वतन्त्र वडा अध्यक्ष र तीन जना स्वतन्त्र वडा सदस्यहरुले पनि नेकपा(एस)मा प्रवेश गरेको भन्दै सनाखत गरेका हुन् ।
नेकपा एमालेबाट नेकपा(एस)मा प्रवेश गर्नेहरु ठूलीभेरीमा ३२ जना, जगदुल्ला गाउँपालिकाबाट दुई वडा अध्यक्ष सहित तीन जना, त्रिपुरासुन्दरी नगरपालिकाबाट एक जना वडा सदस्य र मुड्केचुला गाउँपालिकामा वडा सदस्य, जिल्ला समन्वय समिति सदस्यमा गएका एक जना र ठुलीभेरी नगरपालिकाका चार जना स्वतन्त्र गरी ४१ जनाले नेकपा(एस)मा गएको जनाउँदै सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पामा सबैभन्दा धेरै चार प्रमुख तथा अध्यक्ष, तीन उपप्रमुख तथा उपाध्यक्ष, ४३ वडा अध्यक्ष, ४७ महिला वडा सदस्य, १९ दलित महिला वडा सदस्य, ८५ वडा सदस्य र ४३ दलित वा अल्पसंख्यक सदस्य गरी जम्मा २४४ जनप्रतिनिधि तिजेर सबैभन्दा ठूलो बनेको थियो ।
डोल्पाका आठ स्थानीय तहहरुमा एमालेले जितेको २४४ जनप्रतिनिधिहरु मध्ये नेकपा(एस)मा ३७ जना गएको भन्ने सनाखत भएको छ । बाँकी चार जना स्वतन्त्र पनि नेकपा(एस)मा प्रवेश गरेको भन्दै सनाखत भएको हो । सोमबार कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही जुलुससहित जिल्ला निर्वाचन कार्यालय डोल्पामा पुगेर सनाखत गरेका थिए ।
डोल्पाका आठ स्थानीय तहहरुमा ६५ वडा रहेका छन् । स्थानीय तहहरुमा ३६३ जनप्रतिनिधिहरु छन् । जस मध्ये एमाले २४४, माओवादी केन्द्र ६२, नेपाली काँग्रेस २२, रा.प्र.पा. २०, राष्ट्रिय जनमोर्चा एक, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) एक र स्वतन्त्र १३ सिट जितेका थिए । जस मध्ये एमालेबाट ३७ र स्वतन्त्रबाट चार गरी ४१ जना नेकपा (एकिकृत समाजवादी) बनेका छन् । अब एमालेमा २०७ जना जनप्रतिनिधि मात्र बाँकी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?