logo
२०८१ बैशाख २८ शुक्रवार



बल्दे अम्कोट सडक अवरुद्ध भएपछि विकल्प खोजिदैँ

खुला |
प्रदेश |


बल्दे अम्कोट सडक अवरुद्ध भएपछि विकल्प खोजिदैँ


शेरबहादुर सार्की
बाजुरा, असोज ९ गते । बाजुरा साँफे मार्तडी लोकमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट सडक निर्माणका लागि विकल्पको खोजि गरिएको छ । अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीले साँफे मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट सडक भत्किएपछि विकल्पको खोजी हुन थालेको हो ।

शुक्रवारदेखि दशैं तिहारलाई लक्षित गर्दै भत्किएकै ठाउँबाट मर्मत गरेर सडक सुचारु गर्न खोजिए पनि समस्या देखिएको छ । बूढीगङ्गा नगरपालिका १ अम्कोटका स्थानीय मनिराम पाध्ययाकाअनुसार वर्खा पहिरो र हिउँदमा सडक खन्ने कामले अम्कोट गाउँनै जोखिममा परेको छ ।

उहाँले भन्नुभयो, “वर्खा पहिरो लाग्छ हिउँदमा सडक डिभिजन आएर डोजर लगाउँछ फेरि वर्खा लागेपछि त्यो सडक खनेको ठाउँमा पहिरो जान्छ, ।” हिउँदमा सडक मर्मत गर्दा वर्खामा सडकमा पहिरो लाग्दा अम्कोटको १२० भन्दाबढी परिवारको उठिवास हुने चिन्ता रहेको उहाँले बताउनुभयो ।
“नदिउँ मार्तडीसम्म यातायात नचल्ने, दिउँ भने गाउँ नै उठ्नुपर्ने भयो” स्थानीय कल्धरी नेपालीले भन्नुभयो, “पहिरोका कारण घर नै जोखिम भएर बिहान खाना बनाउन मात्र घरमा जान्छौ बेलुकी अर्कैको घरमा गएर बास बस्छौ ।” पहिरोले भत्किएको सडक मर्मत नभएपछि सदरमुकाम मार्तडी जाने सवारी साधनलाई निकै जोखिम मोल्नुपरेको बाजुराका व्यवसायीको भनाइ छ ।

गत वर्षको पहिरोले सडक निकै अस्तव्यस्त भएकोले काम गर्न निकै समस्या भएको सडक डिभिजन कार्यालय प्रमुख दमनकुमार विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको सबैभन्दा बढी क्षति भएको सडकमध्ये यो सडक एक होला । यस सडकको विकल्पको लागि हामीले सम्बन्धित् निकायसम्म कुरा राखेका छौं ।” लामो समयदेखि सडक अवरुद्ध भएकाकारण बाजुरामा खाद्यान्न समस्या शुरुभएको छ । समस्याको समाधान गर्नेगरी तत्कालका लागि भत्किएको सकडलाई सफाइ गर्दैआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला सदुरमुकाम मार्तडीमा हिउँदका केहि महिना सवारी साधन राम्रो सँग चलेपनि वर्खापछि गाडी रोकिँदै आएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासान कार्यालय बाजुरा र सरोकारवाला निकायको पहलमा बल्दे र अम्कोट सडकको भविष्य नदेखिएकोले यसको अर्को विकल्पको खोजी गरिने भएको छ ।” सडकको अर्को विकल्पका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहल भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?