logo
२०८१ बैशाख २१ शुक्रवार



नेपाल–भारत नाकालाई सुचारु गर्न दुबै देशका नागरिकको माग

खुला |
प्रदेश |


नेपाल–भारत नाकालाई सुचारु गर्न दुबै देशका नागरिकको माग


सिराज खान
नेपालगञ्ज, असोज १० गते । कोरोना भाइरस महामारीका कारण बन्द गरिएको नेपाल–भारत सीमा नाकालाई दुई वर्षभन्दा पहिले जस्तै सहज रुपमा सुचारु गर्न दुबै देशका नागरिकले माग गरेका छन् ।

दुबै देशमा कोरोना महामारी कम भैसके पनि यहाँस्थित नेपाल–भारत सीमानाका जमुनाहबाट अझै भारतीय र नेपाली निजी गाडीहरुको आवागमन खुलेको छैन । नाकाबाट आवागमन गर्नेलाई पैदल हिंडेर नाका पार गरी भारत र नेपाल दुबैतर्फ आउन जान दिइए पनि सवारी साधनलाई आवागमन गर्न नदिइएकोले समस्या भैरहेको नेपालगञ्ज र रुपैडिहाका नागरिकको गुनासो छ ।

दुबै देशका स्थानीयले नेपाल र भारतका नीजि सवारी साधनलाई पनि पहिलेजस्तै सहज रुपमा प्रयोगमा ल्याउन दिनुपर्ने माग गरेका छन् । नेपालगञ्जका अगुवा तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले नाकाबाट हिंडेर सबैलाई आवागमन गर्न दिइएकोले सवारी साधनमात्र रोक्नुको औचित्य नरहेको बताउनुभयो ।

नेपाल–भारतमैत्री सङ्घ बाँकेका अध्यक्ष प्रदीपकुमार गुप्ताले नाका खोल्ने निर्णय गरेपछि सवारी साधनलाई आवागमन गर्न नदिनु न्यायोचित नभएको बताउनुभयो । अब कोरोनाको नाममा दुबै देशका नागरिकलाई नाकामा अनावश्यक दुख दिने काम बन्द गर्नुपर्ने बताउनुभयो ।

सोही प्रकारको माग सीमापारीका भारतीय नागरिकहरुको पनि छ । रुपैडिहाका पूर्वप्रधान जुबेर फारुकीले कोरोनाको नाममा सीमानाका दुबैतर्फका नागरिकले धेरै सास्ती भोगिसकेको जनाउँदै अब दुई वर्ष पहिलेकै अवस्थामा फर्काउनुपर्ने बताउनुभयो ।

रुपैडिहा नागरिक समाजका अगुवा मनिराम शर्माले सीमाना खुला भए पनि सवारी साधन किन रोकिएको प्रश्न गर्दै अब पहिलेजस्तै खोल्नुपर्ने बताउनुभयो ।

नेपाल भारत सीमा नाका जमुनाहका प्रहरी प्रमुख सई पूर्ण खत्रीले नाकाबाट हिंडेर सहज रुपमा दुबै देशका नागरिकलाई आवागमन गर्न दिईए पनि सवारी साधनबारे कुनै निर्देशन नआएकाले रोकिएको बताउनुभयो । नाकाबाट व्यवसायीक सामान बोकेका ट्रक, तेलका ट्यांक र एम्बुलेन्सलाई मात्रै आउन जान दिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?