logo
२०८१ बैशाख २१ शुक्रवार



तिलौराकोटको माटो सिक्किमका मुख्यमन्त्री तामाङलाई उपहार

खुला |
प्रदेश |


तिलौराकोटको माटो सिक्किमका मुख्यमन्त्री तामाङलाई उपहार


नारद कोहार
तौलिहवा, असोज १० गते । गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटको माटो भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पठाइएको छ ।

पर्यटन प्रवर्धन र तिलौराकोटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सो माटो पठाइएको र मुख्यमन्त्री तामाङलाई प्राचीन कपिलवस्तु घुम्न आउन निम्तो दिएको छ । कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको सिक्मिका अन्तर्राष्ट्रिय स्ट्रेङ्गलिफटिङ्ग खेलाडी पेमा दोर्जे भुटियाको स्वागत कार्यक्रममा नेपाल शारीरिक सुगठन तथा फिटनेश सङ्घले सो माटो सिक्किम पठाएको हो ।

स्ट्रेङ्गलिफटिङ्ग खेलको अन्तर्राष्ट्रिय जज, विश्व च्याम्पियन तथा स्ट्रङ मेन अफ सिक्किमको उपाधिसमेत पाएका भुटियामार्फत सो माटो मुख्यमन्त्रीलाई पठाइएको छ । कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय अवधेशकुमार त्रिपाठी, सङ्घका जिल्ला अध्यक्ष जीवन गिरीले मायाको चिनोस्वरुप बुद्धको मूर्ति र माटो भुटियालाई हस्तान्तरण गरेका थिए ।

स्ट्रेङ्गलिफटिङ्ग खेलको क्षेत्रमा नेपालले पनि अगाडि बढोस् भन्ने उद्देश्यले यसको प्रचारप्रसार गर्न आफू नेपाल आएको भुटियाले बताउनुभयो । ओल्ड स्टेन्थ लिफटिङ्ग फेड्रेशनका महासचिव समेत रहेका भुटियाले आफूले यो खेलसहित प्राचीन तिलौराकोटको प्रचारप्रसार गर्ने बताउनुभयो । स्ट्रेङ्गलिफटिङ्ग खेलमा बाईसेफ कल, ईनक्लाईन बेन्च प्रेसको अभ्यास गर्ने गरिन्छ । स्ट्रेङ्गलिफटिङ्ग खेल १९८५ बाट भारतमा शुरुवात भएको र यस सङ्गठन ८ देशमा विस्तार भइसकेको उहाँणले बताउनुभयो ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले यो माटो मात्र नभएर हामी नेपालीहरुको माया र ढुकढुकी भुटियामार्फत सिक्किमका मुख्यमन्त्रीलाई पठाएको बताउनुभयो । कपिलवस्तु गौतमबुद्धका गृहनगर नभएर यहाँ कनकमुनी बुद्ध र क्रकुछन्द बुद्ध लगयतका विभिन्न स्थल प्रचारको अभावले ओझेलमा परेको बताउनुभयो ।

बुद्धकालीन सयममा नै कुस्ती, मार्सल आर्ट लागतयका १६ विद्याको विकास भएको कुरा ललित विस्तार भन्ने पुस्तकमा उल्लेख भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय अवधेशकुमार त्रिपाठीले बताउनुभयो । सन् २०५० सम्म लुम्बिनीमा वार्षिक एक करोड पर्यटक भित्रिने योजना अनुसार काम अघि बढेको उहाँले बताउनुभयो ।

आफूहरुले खेलको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बुद्धको क्रीडास्थलको प्रचारप्रसार गर्ने सङ्घका जिल्ला अध्यक्ष जीवन गिरीले बताउनुभयो । कपिलवस्तुमा १ सय ३६ वटा ऐतिहासिक तथा पुरातात्विक स्थल छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?