logo
२०८१ बैशाख ३० आईतवार



घरधुरी सङ्कलनका लागि घर–घरमा सुपरिवेक्षक

खुला |
प्रदेश |


घरधुरी सङ्कलनका लागि घर–घरमा सुपरिवेक्षक


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज १० गते । डडेल्धुरामा राष्ट्रिय जनगणना–२०७८ सफल पारौँ लेखिएको टोपी लगाएर हातमा पुस्तिका बोकेर घर–घरमा सुपरिवेक्षकहरुले तथ्याङ्क सङ्कलन गरिरहनुभएको छ ।

जिल्ला जनगणना कार्यालय डडेल्धुराले सुपरिवेक्षकहरुलाई तालिम दिएर भदौ ३० गतेदेखि असोज १८ गतेसम्म प्रत्येक घरपरिवारको सूचीकरण लिन घरदैलोमा खटाएको जिल्ला जनगणना अधिकारी चन्द्रबहादुर पालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनगणनामा सही तथ्याङ्क कायम गर्न घर परिवारको तथ्याङ्क सङ्कलनका लागि घरदैलोसम्म सुपरिवेक्षकलाई खटाएका छौं, सुपरिवेक्षकले सोधेको प्रश्नको सही जवाफ दिनु सबैको कर्तव्य हो ।”  सुपरिवेक्षकले घरपरिवार, घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर कति पुरानो, घरमा परिवारको सङ्ख्या तथा कृषि विवरण आदिको बारेमा तथ्याङ्क सङ्कलन गर्दैआएको अधिकारी पालले बताउनुभयो ।

सुपरिवेक्षकहरुले लिएको विवरणका आधारमा आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने जनगणनाका लागि गणकहरु घरदैलोमा पुग्नुहुने बताइएको छ । कोरोना महामारी फैलिएपछि यसअघि घोषित २०७८ जेठ २६ गतेदेखि असार ८ गतेसम्मको जनगणनाको कार्यक्रम स्थगित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?