logo
२०८१ जेष्ठ ३ बिहीवार



निर्णयपछि पनि खुलेन सीमानाका

खुला |
प्रदेश |


निर्णयपछि पनि खुलेन सीमानाका


जनार्जन खत्री
सर्लाही, असोज ११ गते । जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले नेपाल–भारत सीमानाका खोल्ने निर्णय गरेको एक साता भैसके पनि सर्लाहीको सीमानाका अझै खुल्न सकेको छैन् ।

डीसीसीएमसीको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी जिल्लाका विभिन्न आठवटा नाकाहरु खुलाउने निर्णय गरेको थियो । सदरमुकाम मलङ्गवास्थित गोरखकाली नाकासँगै भाँडसर, सङ्ग्रामपुर, पर्सा, त्रिभुवननगर, बाराउद्योरण, फेन्हरा र बलरा नाका खुलाउने निर्णय भएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नाकाहरुबाटै नेपाल प्रवेशका लागि सहजीकरण गरिरहेको बताउनुभयो । नेपालबाट भारत प्रवेशको हकमा भने भारतीय सरकारकै निर्णयानुसार हुने प्रमुख जिल्ला अधिकारी महतोको भनाइ छ ।

भारतबाट नेपालतर्फ प्रवेश गर्न चाहनेहरुलाई नेपाल प्रवेश गराउनु आफूहरुको प्रमुख दायित्व रहेको महतोले बताउनुभयो । “हामीले नेपाल प्रवेश गर्न सहजीकरण गरिदिने हो, भारतीयको पक्षमा त्यहाँको सरकारबाट निर्णय वा निर्देशन नआएसम्म उहाँहरु (भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले केही निर्णय गर्नुहुन्छ होला !,” प्रमुख जिल्ला अधिकारी महतोले गोरखापत्रसँग भन्नुभयो, “हाम्रो अवस्थालाई हेरेर भारतीय पक्षबाट नाकामा सहजीकरण हुन्छ भन्ने विश्वासमा छौँ ।”

प्रमुख जिल्ला अधिकारी महतोले स्थानीय पालिकाहरुले जहाँ–जहाँ हेल्थ डेक्स स्थापना गर्छन्, त्यहाँ–त्यहाँ नाका खोल्दै जाने बताउनुभएको छ । डीसीसीएमसीको बैठकले प्रत्येक नाकामा पालिकाहरुमार्फत हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्य अवस्था सामान्य भएका व्यक्तिलाई मात्रै प्रवेश गर्न दिने निर्णय गरेको छ ।

सदरमुकाम मलङ्गवा नगरपालिकाका मेयर निरसल साहले मलङ्गवास्थित गोरखकाली नाकामा हेल्थ डेक्स सञ्चालनका लागि दुई जना स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभएको छ । सुरक्षा निकाय र भन्सार कार्यालयले अझै पनि माथिबाट निर्देशन नआउन्जेल नाका नखुल्ने बताइरहेका मेयर साहको भनाई छ ।

सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका– ३, मधुवन गोठका स्थानीयवासी अकलेस बैठाले सीमामा अवरोध कायमै रहेको जानकारी दिनुभयो । “केही सातादेखि मानिसलाई आवतजावतमा सहजता भएपनि सवारी साधन चलाउन दिइएको छैन,” बैठाले भन्नुभयो, “सरकारको निर्णय पश्चात पनि सीमाको अवस्था उस्तै छ, केही फरक पाएका छैनौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?