logo
२०८१ जेष्ठ ३ बिहीवार



खोलामा अस्थायी ड्याम निर्माण गरेर सिंचाइको प्रबन्ध

खुला |
प्रदेश |


खोलामा अस्थायी ड्याम निर्माण गरेर सिंचाइको प्रबन्ध


विजयकुमार साह
ढल्केवर, असोज ११ गते । खोलाको बाढीले सिंचाई कुलो भत्काएपछि धनुषाको मिथिला नगरपालिका ११ तुलसीका किसान रातु खोलाको बहाव थुनेर तथा अस्थायी ड्याम निर्माण गरी धानखेत सिंचाइ गरिरहेका छन् ।

स्थानीय ८७ घरधुरी परिवारका सदस्यले श्रमदान गरेर रातु खोलामा अस्थायी ड्याम निर्माण गरी करिब एक सय बिघा धानखेतमा सिंचाई गरिरहेको स्थानीयले बताएका छन् । गत असार महिनामा रातु खोलामा आएको बाढीले निर्माणधीन कुलो भत्काएपति खेतमा सिंचाइ गर्न समस्या भएको थियो ।
खेतबारी सिंचाई गर्ने एकमात्र विकल्प कुलो भत्किएपछि सिंचाई सुविधाबाट बञ्चित भएका गाउँलेहरुले प्लाष्टिकको बोरामा बालुवा भरेर, ढुङ्गा, बाँस तथा पातपतिङ्गर आदिको प्रयोग गरेर रातु खोलामा अस्थायी ड्याम निर्माण गरेका छन् ।

स्थानीयवासी प्रेमबहादुर कार्कीले सिंचाई अभावले धानबाली सुक्न थालेकाले बाध्य भएर खोला थुनेर अस्थायी ड्याम निर्माण गरी धानबाली सिंचाई गरिरहेको बताउनुभयो । “धानमा अहिले दाना लाग्ने बेला भएको छ, यतिबेला धानबालीमा सिंचाइ गरिएन भने पोषिलो दाना हुँदैन” कार्कीले भन्नुभयो ।
कुलो भत्किएका कारण तुसलीका ६० हेक्टर जमिनमा सिंचाइ अभाव भएको छ । जसोतसो रोपाइँ गरेका किसानलाई धानबालीमा पानी कसरी लगाउने समस्या देखिएको थियो ।

बाढीले भत्काएको कुलो तत्कालै मर्मत सम्भार गर्न सम्भव नभएकाले र गाउँलेको मिहिनेतले निर्माण भएको ड्यामबाट ठूलो राहत मिलेको अर्का स्थानीयवासी तोरण कार्कीले बताउनुभयो । अहिले धानखेतमा प्रयाप्त सिंचाइ भइरहेको बताउँदै उहाँले भन्नुभयो, “यसरी सिंचाइ नगरेको भए यत्रो मिहिनेत गरेर लगाएको धानबाली त्यसै खेर जान्थ्यो ।”

भत्किएको कुलो मर्मतसम्भारका लागि मिथिला नगरपालिका लगायतसँग सम्बन्धित निकायमा स्थानीय किसानले जानकारी गराउनुभएको छ । वर्षाको मौमस अझै कायमै रहेकाले वर्षापछि मर्मत गरिदिने आश्वासन दिएको कार्कीले जानकाुरी दिनुभयो । कुलो मर्मतका लागि मिथिला नगरपालिकाले पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको छ । वर्षा सकेपछि मर्मतको काम अगाडि बढाउने जानकारी प्राप्त भएको कार्कीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?