logo
२०८१ जेष्ठ ४ शुक्रवार



विकट क्षेत्र तेम्बाथानमा सेनाको हेलिकप्टरबाट कोरोनाविरुद्धको खोप

खुला |
समाज |


विकट क्षेत्र तेम्बाथानमा सेनाको हेलिकप्टरबाट कोरोनाविरुद्धको खोप
बाढीले पुल बगाएपछि मानवीय आवागमन समेत विच्छेद रहेको जुगलको तेम्बाथानमा नेपाली सेना स्वास्थ्योपचार गर्दै



विदुर आचार्य,
चौतारा, असोज ११ गते । सिन्धुपाल्चोकको विकट हिमाली क्षेत्र जुगल गाउँपालिका–३ गुम्बाको तेम्बाथानमा नेपाली सेनाको हेलिकप्टरबाट कोरोना विरुद्धको खोप तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आइतबार जिल्ला विपद् ब्यवस्थापन समितिको आकस्मिक तयारीमा नेपाली सेना गोरख बक्स गण र जनस्वास्थ्य कार्यालयको टोलीले तेम्बाथामा पुगेर कोरोना विरुद्धको खोपसहित स्वास्थ्य शिविर र आवश्यक राहत सामाग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।
गत असार ६ गते आएको बाढीले नेसम खोलाको झोलुंगे पुल बगाएपछि आवागमन विच्छेद भएको तेम्बाथानका तीन सय बढी स्थानीयको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको छ । शिविरमा उपचार सम्भव नभएका तर तुरुन्तै उपचार गर्नुपर्ने आधा दर्जन विरामीलाई नेपाली सेनाको हेलिकप्टरले उपचारार्थ राजधानी काठमाडौं लगेको छ ।
बाढीले पुल बगाएपछि कुनै पनि आवागमनको माध्यम नभएको तेम्वाथावासी स्वास्थ्य केन्द्र पुग्न नसकेर रोग पालेर बस्न बाध्य भएको र यस क्षेत्रमा खाद्यान्न अभाव समेत सुरु भएको गुनासो आएपछि जिल्ला विपद् व्यवस्थापन समितिले खाद्यान्न ढुवानीसहित एकदिने स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको गोरख बक्स गण चौताराका प्रमुख सेनानी निर्मल श्रेष्ठले जानकारी दिनुभयो । नेपाली सेनाका विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले तेम्बाथानका १६५ धुरीका करिब २५० स्थानीयको स्वास्थ्य परीक्षण गरेको नेपाली सेनाले जनाएको छ । तेम्बाथानसम्म ढुवानी सम्भव नभएकाले नेपाली सेनाको हेलिकप्टरले चामल, दाल, नुन तेल र विद्यार्थीहरुका लागि शैक्षिक सामाग्रीसहित चार हजार किलो सामाग्री ढुवानी गरेको छ । यस अघि असारको बाढी लगत्तै नौ हजार किलो राहत सामाग्री तेम्बाथान पुर्याएको सेनाले जनाएको छ । स्वास्थ्य शिविरमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तेम्बाथानका स्थानीयलाई कोरोना विरुद्धको पहिलो र दोश्रो डोज खोप प्रदान गरेको छ । जेठमा पहिलो डोज लिएपछि बाढीका कारण आगमन विच्छेदमा परी यहाँका स्थानीयले दोश्रो डोज खोप पाउन सकेका थिएनन् । तेम्बाथनका १८ वर्षमाथिका १८२ जनालाई दोस्रोसहित २२९ जनालाई कोरोना विरुद्धको खोप (भेरोसेल) लगाइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिनुभयो । चापागाईंका अनुसार पाँच सय ७१ डोज खोपसहित स्वास्थोपचार सामाग्री स्थानीय स्वास्थ्य केन्द्रसम्म पु¥याइएको छ । औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक सामाग्री ढुवानीको सम्भावना नरहेको तेम्बाथानका लागी केहि महिनाका पुग्नेगरी तेम्बाथान सम्म सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको उहाँका भनाइ छ । शिविरमा जिल्ला सरकारी वकिलको कार्यालय तथा नेपाल प्रहरीले सचेतनाका कार्यक्रम तथा स्थानीयसँग छलफल तथा परामर्श गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?